उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमीफाईनलमा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २२, शुक्रबार

रसियामा जारी विश्वकप फुटबलमा उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार निज्नि नबगरड रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको पहिलो हाफको ४० औं मिनेटमा राफाल बारेनले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएको थियो । ग्रिजम्यानले हानेको फ्रिकिक बललाई हेड गर्दै राफालले पोष्टभित्र छिराएका थिए ।
दोश्रो हाफ शुरु भएर ६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई दोश्रो गोल दिए । ग्रिजम्यानको प्रहारलाई उरुग्वेका गोलरक्षक मुस्लेराले रोकि नै सकेका थिए । तरपनि मुस्लेराको हातबाट बल उछिट्टिएर जाली चुम्न गयो ।
निकै आक्रामक देखिएको उरुग्वेका खेलाडीहरुले गोलका थुप्रै प्रयास गरेका थिए । तर फ्रान्सको बलियो रक्षापंक्ति र गोलकिपर ह्यूगो लोरीसले कुनै पनि प्रयासलाई सफल हुन दिएनन् ।
अब फ्रान्सले सेमिफाइनलमा आजै सम्पन्न हुने ब्राजिल र बेल्जियमबीचको दोश्रो क्वाटरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
Categorized in स्पाेर्ट्स