arin enterprises

कोलम्बियालाई हराउँदै इङल्यान्ड क्वाटरफाइनलमा

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २०, बुधबार

पेनाल्टि सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै इङल्यान्ड रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको साथै अतिरिक्त ३० मिनेटको खेलसम्म पनि १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट इङल्यान्डले खेल जितेको हो ।

टिमलाई जिताउन पेनाल्टि सुटआउटमा इङल्यान्डबाट ह्यारी केन, मार्कस रासफोर्ड, किएरान ट्रिप्पियर, एरिक डायरले गोल गरे । जोर्डन हेन्डर्सनको प्रहार भने कोलम्बियन गोलरक्षक ओस्पिनाले रोकिदिएका थिए ।

त्यसैगरी कोलम्बियाबाट राडामेल फाल्काओ, जुआन क्वाड्राडो, लुइस मुरीएलले टिमलाई गोल दिए । म्याट्युस उराइब, कार्लोस बाक्काको प्रयासलाई भने इङल्यान्डका गोलरक्षक पिकफोर्डले असफल बनाइदिए ।

यो जीतसँगै इङल्यान्ड क्वाटरफाइनलमा पुगेको छ भने कोलम्बिया घर फर्केको छ ।

सोभन्दा अगाडि खेल १–१ गोलको बराबरीमा सकिएको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको खेल, अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसक्दा पेनाल्टि सुटआउटबाट विजेता छानिएको थियो ।

खेलमा अग्रता भने इङ्ल्यान्डले लिएको थियो । खेलको ५७औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै ह्यारी केनले गोल गर्दै इङल्यान्डलाई अगाडि बढाए ।

इन्जुरी टाइमको अन्तिमसम्म पनि इङल्यान्ड १–० को स्थितीमा रहँदा प्राय सबै इङल्यान्डले खेल जित्नेमा ढुक्क जस्तै भइसकेको थिए । तर इन्जुरी टाइमको तेश्रो मिनेटमा कोलम्बियाका एरी मिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यो खेलसँगै प्रिक्वाटरफाइनलका सम्पूर्ण गेमहरु पनि सम्पन्न भएका छन् ।

Categorized in स्पाेर्ट्स