arin enterprises

पेनाल्टि सुटआउटबाट क्रोएशिया विजयी

SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ १८, सोमबार

पेनाल्टि सुटआउटमा डेनमार्कलाई ३–२ गोलले हराउँदै क्रोएशिया रसियामा जारी विश्वकपको क्वाटरफाइनल राउन्डमा प्रवेश गरेको छ ।

खेल जिताउनमा क्रोएशियन गोलकिपर डानियल सुबेसिकले निर्णायक खेल खेले । उनले पेनाल्टि सुटआउटमा डेनमार्कको तिनवटा प्रहारले छेकेर टिमलाई जित दिलाए ।

टिमलाई जिताउन क्रोएशियाबाट आन्ड्रेज क्रामेरीक, लुका मोड्रिक र इभान राकेटिकले गोल गरे । डेनिस टिमबाट भने साइमन जाएर र माइकल क्रोहनले मात्र गोल गरे । 

निकै प्रतिस्पर्धात्मक खेलमा पेनाल्टि सुटआउट पनि उत्तिकै प्रतिस्पर्धात्मक रह्यो । दुवै टिमका गोलकिपरले एकपछि अर्को प्रहार रोक्दै गर्दा खेल निकै रोचकको साथै उत्साहजनक बनेको थियो ।

क्रोएशियन टिमबाट मिलान बाडेल्ज र जोसिब पिभारिकको प्रहारलाई डेनिस गोलरक्षक क्यास्पर स्कीमिसेलले रोकिदिए । त्यसैगरी क्रोएशियन गोलरक्षक डानियलले डेनिस खेलाडी क्रिश्चियन एरिक्सन, लासे स्कोन र निकोलाइ जोर्गेन्सनको गोलको प्रयास विफल पारिदिएका थिए ।

खेलको निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको २६औं मिनेटमा पाएको पेनाल्टिमा पनि लुका मोड्रिक्सले गोल गर्नबाट चुके । लुका मोड्रिक्सको पेनाल्टि प्रहारलाई पनि डेनिस गोलरक्षक क्यास्पर स्कीमिसेलले रोकिदिएका थिए । 

डेसिन खेलाडी माथ्युस जोर्गिन्सनले डि एरियाभित्र फाउल हाल्दा क्रोएशियाले पेनाल्टि पाएको थियो । उक्त फाउलको लागी रेफ्रिले जोर्गिन्सनलाई पहेंलो कार्ड पनि देखाएका थिए ।

अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । 

सन् १९९८मा फ्रान्समा सम्पन्न विश्वकपपछि क्रोएशिया पहिलोपल्ट क्वाटर फाइनल पुगेको हो 

संजोगवश, आज सम्पन्न राउन्ड अफ सिक्सटिन अन्तर्गतको दुवै खेलको विजेता पेनाल्टि सुट आउटबाटै छानिएको थियो । यसभन्दा अगाडि पनि रसियाले पनि स्पेनलाई पेनाल्टि सुटआउटमै हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

Categorized in स्पाेर्ट्स