२८ वर्षपछि ईङ्गल्याण्ड सेमिफाइनलमा, स्वीडेन बाहिरियो
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २३, शनिबार

रसियामा जारी विश्वकपमा स्वीडेनलाई हराउँदै सन् १९६६ को विश्वकप विजेता ईङ्गल्यान्ड सेमिफाइनलमा पुगेको छ ।
समारा एरेनामा सम्पन्न तेश्रो क्वाटरफाइनल म्याचमा ईङ्गल्यान्डले स्वीडेनलाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० पछि ईङ्गल्यान्ड पहिलोपटक सेमिफाइनलसम्म पुगेको हो ।
इंग्ल्याण्डलाई अन्तिम ४मा पुर्याउन हयारी मागुरे र डेल अलीले १, १ गोल गरे ।
खेलको ३०औं मिनेटमा कर्नर बललाई ह्यारी माग्युरेले हेडमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । दोश्रो हाफमा ५८औं मिनेटमा इंग्ल्याण्डका लागि डेल अलीले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाए । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए ।
खेलमा स्वीडेनले पनि केहि अवसरहरु श्रृजना गरेपनि ईङ्गल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले सफल हुन दिएनन् । पिकफोर्डले स्वीडेनको ३ वटा उत्कृष्ट प्रहार बचाएर टिमको जित सुनिश्चित गरे ।
इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।
ईङ्गल्यान्डले फाइनल प्रवेशका लागि शनिबार राति हुने रसिया र क्रोएसियाबीचको खेलको विजेतासँग आउँदो बुधबार प्रतिस्पर्धा गर्नेछ ।
Categorized in स्पाेर्ट्स