७ पुस्तक एकैचोटी विमोचन
SamacharDesk – समाचार श्रोतः केके मानन्धर | २०७९ जेठ १५, आइतबार

केके मानन्धर नेपालभाषामा लेखिएका विभिन्न विधाका सात वटा पुस्तक एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ ।
कुतः पिकाकः प्रकाशनले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका ७ वटा पुस्तकलाई एकैपटक विमोचन गरिएको हो ।
कार्यक्रममा समालोचक अपर्णा प्रधानद्वारा रचित न्हाय्कं, जिज्ञासा र म्हमस्यूम्ह मनू, आख्यानकार मथुरा सायमिकाे महाअभियान, कथाकार पशुपतिमान पःमांको नेवाः वाउँभतु र मलखं कःगु छेँ तथा पूर्ण ताम्राकारको कवि सुन्दर मधिकर्मी नामक पुस्तक विमोचन गरिएको हो ।
विमोचित पुस्तकहरुमध्ये महाअभियानलाई अंग्रेजी, नेपाली तथा नेपालभाषामा प्रकाशन गरिएको छ ।
कार्यक्रममा कुतः राजदास साहित्य पुरस्कारसमेत प्रदान गरिएको थियो ।
निबन्धकार पूर्णराम मुनंकर्मीलाई नगद पचास हजारसहित कुतः राजदास साहित्य पुरस्कार प्रदान गरिएको थियो । मुनकर्मीले लेख्नुभएको अनुसन्धानमूलक किताब संवत् सन्दर्भ छगू दुवालाको लागि उत्कृष्ट पुरस्कार दिइएको हो ।
त्यस्तै, नगद दस हजारसहित कुतः राजदास साहित्य प्रोत्साहन पुरस्कार क्रमशः उपन्यास डा. रीना तुलाधर, कथाकार पशुपतिमान पःमां, हाइजिन मोक्षबहादुर अमात्य तथा समालोचक अपर्णा प्रधानलाई दिइएको थियो ।
जम्मा ४१ वटा किताबमध्येबाट उत्कृष्ट पाँच जना साहित्यकारहरुको किताब पुरस्कारको लागि छनोटमा परेको हो ।
नेपालभाषा एकेडमीका महासचिव डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले प्रतियोगितामा सहभागी गराइएका किताबहरुलाई मूल्यांकन गरेको आयोजक संस्थाले जानकारी दिएको छ ।
सोही कार्यक्रमकमा साहित्य र संगीत क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको थियो । सोही क्रममा आख्यानकार मथुरा सायमिले संगीततर्फ जनगायक रामकृष्ण दुवाल र साहित्यतर्फ साहित्यकार विमल ताम्राकारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए् ।
कार्यक्रममा कवयत्री प्रतिसरा साय्मि, साहित्यकार रामेश्वर भुजु, वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः, तिलक प्रकाश कायस्थ, अगिब बनेपाली, महेन्द्र गोपाल कर्माचार्य, डा. इन्दुल केसी, कृष्णभक्त बोडे, योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, ध्रुव मधिकर्मी, प्रकाश सक्व, विजयरत्न असंबरे, ऋषिप्रसाद श्रेष्ठ, सत्यनारायण मानन्धर, विष्णु केशरी ताम्राकार, पञ्चवीर सिंह तुलाधरलगायतको सहभागिता थियो ।
Categorized in पेजथ्री