रातो मच्छिन्द्रनाथको रथयात्रा आज
SamacharDesk | २०७९ बैशाख २१, बुधबार

कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा आज सुरू हुँदैछ । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पु¥याइने छ । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा राखिएको छ ।
पुल्चोकमा निर्माण गरिएको रथमा गत आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेको थियो । रथारोहण गरेसँगै हेरक दिन देवताको दर्शन गर्ने, बत्ती बाल्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ । नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो भने यसवर्ष विगतमा झैं रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागेको हो ।
दर्शनार्थीको भीड बढेसँगै पुल्चोक हुँदै चल्ने सवारीसाधनलाई आज पनि डाईभर्सन गरिएको छ । जावलाखेल–पुल्चोक हुँदै चल्ने गाडीलाई झम्सिखेलबाट डाईभर्सन गरी कानदेवता थान निस्कने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
Categorized in संस्कृति