एप्पलको एआर/भीआर हेडसेट सार्वजनिक
SamacharDesk | २०८० जेठ २४, बुधबार

लामो समयपछि एप्पलले एआर÷भीआर हेडसेट सार्वजनिक गरेको छ ।
सोमबारदेखि जारी वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२३ को अवसरमा एप्पलले आफ्नो पहिलो हेडसेट सार्वजनिक गरेको हो ।कम्पनीले उक्त हेडसेटलाई ‘स्पेसियल कम्प्युटर’ (Spatial Computer) नाम दिएको छ ।
यो डिभाइस पूर्ण रूपमा नयाँ ओएस (अपरेटिङ सिस्टम) डबल भिजन ओएसमा आधारित छ । यसको डिस्प्ले सिस्टममा दुई करोड ३० लाख बढी पिक्सेल रहेको हुँदा यसमा फोरके टिभीभन्दा राम्रो अनुभव पाउन सकिने कम्पनीको दाबि छ ।
यसमा दुई ओटा माइक्रो ओएलईडी स्क्रिन छ । कम्पनीका अनुसार यसमा क्याटाडायोप्ट्रिक लेन्सहरू रहेका छन्, जसमा आवश्यकता अनुसार सार्पनेस र क्लियारिटी बढाउन वा घटाउन सकिन्छ । मानिसहरूलाई प्रष्टसँग देख्न सहयोग पु¥याउने गरी यसमा भिजन करेक्सन फिचर उपलब्ध गराइएको छ ।
यो डिभाइसले प्रयोगकर्तालाई भिडिओमा भएका हरेक कुरा आफ्नै अघि भएको अनुभव दिने कम्पनीले जनाएको छ । यसको आर वान चिपले तस्वीरलाई १२ मिलिसेकेन्डमा डिस्प्लेमा स्ट्रिम गर्छ जुन मानिसले आँखा झिम्काउनेभन्दा आठ गुणा तीव्र स्पिड हो ।
एम टु चिपसेटको कस्टम डुअल कोर भर्सनमा आधारित यसमा १२ ओटा क्यामेरा, पाँच ओटा सेन्सर, छ ओटा माइक र आर वान चिपसेट समावेश गरिएको छ ।
भौतिक रूपमा छोएर कन्ट्रोल गर्नका लागि यसमा कुनै किसिमका बटन उपलब्ध छैनन् । डिभाइस अनलक गर्न अप्टिकल आईडी फिचर मार्फत आँखाको रेटिना पहिचान गरी डिभाइस अनलक गर्न सकिन्छ । यसले डिभाइसलाई उत्तिकै सुरक्षा प्रदान गर्ने बताइएको छ ।
यूआईको कुरा गर्नुपर्दा भिजन ओएस यूआईलाई आँखा, हात र आवाजले नियन्त्रण गर्न सकिन्छ । त्यस्तै हेडसेटबाटै आँखाले हेरेर एप ब्राउज गर्न, औंलाहरू चलाएर सेलेक्ट गर्न, हातका नाडीको सहायताले स्क्रोल गर्न सकिन्छ । साथै यी सबै कुरा भ्वाइसबाटै कन्ट्रोल गर्न सकिने जनाइएको छ ।
यो हेडसेटलाई चस्माका रूपमा पनि प्रयोग गर्न सकिनेछ । जसलाई एप्पलले ‘आइ साइट’ फिचर नाम दिएको छ । यस फिचरमार्फत हेडसेट प्रयोग गरिरहेको अवस्थामा त्यसलाई पारदर्शी बनाउन सक्ने छ ।
यसमा दुई घण्टाको ब्याट्री लाइफ रहेको छ । त्यस्तै हेडसेटबाट फेसटाइम कलहरू लिन सकिनेछ । जहाँबाट वास्तविक रूपमा कुरा गरिरहेको अनुभव हुने कम्पनीले जनाएको छ । कलको समयमा भिजन प्रो लगाएका प्रयोगकर्ताहरू ‘पर्सोना’ का रूपमा प्रतिबिम्बित हुन्छन् ।
यस डिभाइसका लागि कम्पनीले छुट्टै एप स्टोर पनि उपलब्ध गराएको छ, जहाँबाट हजारौं आईफोन र आईप्याड एपहरू प्रयोग गर्न सकिन्छ ।
भिजन ओएसमा रहेको थ्रीडी इन्टरफेसले एपलाई आफ्नै अगाडि भएको अनुभव दिन्छ, जसलाई म्याजिक किबोर्ड प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।
भिजन प्रोले कुनै पनि स्पेसलाई निजी फिल्म थ्रेटरका रूपमा प्रयोग गर्ने अनुमति दिन्छ । यसको अर्थ प्रयोगकर्ताले भिजन प्रोमा एक सय फिट चौडाइ भएको भर्चुअल स्क्रिन बनाउन सक्नेछ ।
उक्त स्क्रिनमा एक सयवटाभन्दा बढी एप्पल आर्केड गेमहरू खेल्न सकिन्छ ।
यो एप्पलको सबैभन्दा अत्याधुनिक मसिन लर्निङ प्रविधिहरू प्रयोग गरी तयार पारिएको फिचर हो । यसबाट एकै पटक फिल्म हेर्न, एप ब्राउज गर्न र प्रेजेन्टेसन दिन समेत सक्नेछ ।
यस्तै यस डिभाइसमा कम्पनीले आफ्नो पहिलो थ्रीडी क्यामेरा समेत उपलब्ध गराएको छ । यसका माध्यमबाट फोटो तथा भिडिओ खिच्न र उक्त डिभाइसबाट खिचिएको फोटो तथा भिडिओलाई आईक्लाउडमा हेर्न सकिने उल्लेख छ ।
यस डिभाइसमा अल्मुनियमको फ्रेम रहेको छ, जसलाई आफ्नो अनुहारको आकार अनुसार एडजस्ट गर्न सकिन्छ । यो हेडसेटको मूल्य ३ हजार ४ सय ९९ अमेरिकी डलर तोकिएको छ ।
सुरुवाती चरणमा यो हेडसेट डिभाइस अमेरिकामा मात्र उपलब्ध हुने र सन् २०२४ पछि मात्र अन्य देशमा उपलब्ध हुने जनाएको छ ।
Categorized in विज्ञान-प्रविधी