arin enterprises

कलाकार रुपेन अब निर्देशक पनि

SamacharDesk – बिराज | २०७८ भाद्र १५, मंगलबार

नेपालभाषाको कलाकारिता क्षेत्रमा चर्चित कलाकार रुपेन्द्र श्रेष्ठ ‘थक्वाःमि’ को परिचय फेरिएको छ । अब उनको परिचयमा कलाकारको साथमा निर्देशक पनि जोडिएको छ ।

श्रेष्ठले गायक सगुन ताम्राकारको नेपालभाषाको गीत ‘हिरा लानि’ को म्यूजिक भिडियो निर्देशन गर्दै यस क्षेत्रमा पाइला चालेका हुन् ।

निर्देशन पनि आफ्नो रुचिको विषय भएको र गायक ताम्राकारले गीतको निर्देशन गर्नको लागि भनेपछि आफु यस क्षेत्रमा अघि बढेको कलाकार र निर्देशक श्रेष्ठले बताउनुभयो ।

‘सगुन दाईलाई मेरो गीत मुसुमुसु न्हिलाःको म्यूजिक भिडियो मन परेको रहेछ । त्यो गीत हेरिसकेपछि उहाँले मलाई आफ्नो म्यूजिक भिडियो निर्देशन गरिदिन भन्नुभयो र मैले यो गीतको भिडियो निर्देशन गर्ने अवसर पाएँ’ श्रेष्ठले भन्नुभयो ।

अहिलेको युवा पुस्तालाई लक्षित गरेर भिडियोको परिकल्पना बनाएको श्रेष्ठको भनाई हो । गीतको छायाङ्कन त्रिभुवन विश्वविद्यालय परिसरमा गरिएको छ ।

कुनै समयमा फेब्रुअरी 14 गीत गाएर चर्चा कमाएका गायक ताम्राकारको यो पहिलो नेपालभाषाको गीत हो । गीतमा संगीत पनि उनकै रहेको छ । ताम्राकारले यो गीत आफ्ना स्वर्गीय बुबा रमेश ताम्राकारलाई समर्पण गरेका छन् ।

गीतमा शब्द अन्जना ताम्राकारको रहेको छ ।

रक्की महर्जनले छायाङ्कन र दृश्य सम्पादन गरेको भिडियोमा कलाकार अनुज शाक्य, श्रृष्टि महर्जनको साथमा चिरिबाबु महर्जन, पुजन श्रेष्ठ, लूनिभाः महर्जन, आयेशा लोप्चनले अभिनय गरेका छन् ।

गायक ताम्राकारकै युट्युब च्यानलमा गीत अपलोड गरिएको छ । 

Categorized in पेजथ्री