जमिनभन्दा चार गुणा अग्ला भवन बनाउ पाइने
SamacharDesk – राम डंगोल | २०७९ जेठ १८, बुधबार

उपत्यकावासीहरुले अब देखि भवन बनाउँदा आफ्नो जग्गा भन्दा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइने भएको छ ।
सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेसँगै अबदेखि आफ्नो जग्गा भन्दा चार गुणा ठूलो घर बनाउन पाएको हो ।
शहरी विकास मन्त्रालयले संशोधन गरेको मापदण्ड अनुसार शहरी क्षेत्रमा अब यस अघिको मापदण्ड भन्दा दोब्बर अग्ला घर तथा भवनहरु बनाउन पाइने छ भने सँधियारतर्फ पनि कम खाली ठाउँ छाडे पुग्ने छ ।
संशोधित मापदण्ड अनुसार फ्लोर एरिया रेसियो ४ दशमलव ५ अर्थात जमिनको क्षेत्रफलको तुलनामा साढे चार गुणासम्म ठूलो भवन बनाउन पाइने छ ।अब सानो क्षेत्रफलको जग्गामा पनि अग्ला भवनहरु बनाउन पाइने छ ।
उपत्यकासहित पहाडी क्षेत्रमा बन्ने व्यापारिक तथा सम्मेलन केन्द्रहरुको जमिनको तुलनामा भवनको उचाई अनुपात साढे ३ कायम गरिएको छ भने आवासीय भवनका लागि ४, मिश्रित आवासीय भवनका लागि साढे चार र संस्थागत भवनका लागि साढे २ कायम गरिएको छ ।
तराईमा भने व्यापारिक तथा सभा सम्मेलन भवनले ३, आवासीय भवनले ३, मिश्रित आवासीय भवनले ३ र संस्थागत भवनले साढे २ को अनुपात कायम गर्नुपर्ने छ ।
त्यसैगरी, सँधियारतर्फ १० मिटरसम्म उचाई भएका भवनले डेढ मिटर छाडे पुग्ने भएको छ भने १० देखि १७ मिटर अग्ला भवनले २ देखि ३ मिटर र त्यो भन्दा अग्डा भवनले ४ मिटर छाडे पुग्ने छ । कसैले सय मिटर अग्लो भवन बनाएमा भने १३ मिटर छाड्नु पर्ने छ ।
शहरी विकास मन्त्रालयले खाली जग्गा साँघुरिंदै गएकाले मापदण्ड घटाइएको बताए पनि हाउजिङ ब्यासायीको प्रभावमा परेर भवन निर्माण मापदण्ड संशोधन गरिएको टिप्पणी विज्ञहरुले गरेका छन् ।
Categorized in स्थानीय