उपत्यका बाहिर चल्ने सवारीसाधन बसपार्कमा केन्द्रित गर्न महानगरको निर्देशन
SamacharDesk | २०८० जेठ १९, शुक्रबार

काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाले आज सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने ब्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो ।
जभाभाबी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडकमा जथाभाबी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।
“काठमाडौँबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँग आग्रह गरिन्छ”, महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभाबी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ ।
यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्मको क्षेत्रमा रोक्न निषेध गरिएको पनि महानगरले बताएको छ ।
महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसंगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
Categorized in स्थानीय