चर्च ब्वाइज सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन
SamacharDesk – Rakshan Rajopadhyaya | २०८० जेठ २३, मंगलबार

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा डेब्यू गरेको चर्च ब्वाइज युनाईटेडले यस सिजनको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँगको खेलमा चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।
यस्तोमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज युनाईटेड च्याम्पियन बनेको हो ।
आज भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो। तर, दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् र खेल बराबरी मै टुङ्गियो ।
त्यसको साथै लिगको एक खेल बाँकी रहदै चर्च ब्वाइज युनाईटेडले उपाधिमा कब्जा जमाएको हो ।
नेपाली फुटबलका सर्वाधिक सफल खेलाडी बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज युनाईटेड लिगको एक खेल बाँकी रहदै २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहि उपाधिमा कब्जा जमाएको छ ।चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ ।
अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ।
चर्च ब्वाइजले ’बी’ लिगबाट बढुवा भएकै सिजनमा ’ए’ डिभिजन लिग जित्दै ३७ वर्षपछि मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी पनि गरेको छ ।
मनाङले २०४२ सालमा ’बी’ लिग र ०४३ सालमा ’ए’ डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो । चर्च ब्वाइजले मनाङको उक्त कीर्तिमानमा बराबरी गरेको हो ।
Categorized in स्पाेर्ट्स