arin enterprises

उपत्यकामा ६ हजार ३४३ नयाँ संक्रमित थप

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ५, बुधबार

पछिल्लो पटक देशैभरीबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ८७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा कोभिड १९ का ६ हजार ३४३ जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ४ हजार ६६६ जना संक्रमित भेटिए भने ललितपुरमा एक हजार ९९ र भक्तपुरमा ५७८ संक्रमित थपिएका छन् । हालसम्ममा काठमाडौं उपत्यकामा ३ लाख ६९ हजार ७१५ जना कोभिड १९ बाट संक्रमित भइसके ।

यसै समयभित्र उपत्यकामा थप ४०९ जना संक्रमित निको भएका छन् । हालसम्म उपत्यकाका कुल संक्रमितमध्ये ३ लाख ३५ हजार ८१० जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो पटक कोभिड संक्रमणबाट मृत्यु हुने ४ जनामध्ये २ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं र भक्तपुरमा थप एक/एक जना संक्रमितको मृत्यु भएको हो ।

उपत्यकामा हालसम्म ३ हजार ३९७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या ३० हजार २०८ रहेको छ । तीमध्ये जनरल वार्डमा २३५ जना उपचाररत छन् भने एचडियू वार्डमा ३२६ र आइसीयूमा ६२ जना छन् । १५ जनालाई भने भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । 

Categorized in राष्ट्रिय