चाँगु नारायणमा अब भक्तजनहरुले विशेष पूजा गराउन पाउने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ ८, आइतबार

चाँगु नारायणमा अबबाट भक्तजनले विशेष अवसरहरुमा निश्चित रकम तिरेर पूजा गराउन पाउने भएको छ ।
चाँगुनारायणको नित्यपूजा, पर्वपूजा, जात्रा आदिलाई असर नपर्ने गरी भक्तजनले केही रकम तिरेर पूजा गराउन पाइने चाँगुनारायण विकास समितिले जनाएको छ ।
समितिका अनुसार जन्मदिन वा खुसीको अवसर, विवाहको बर्षगाँठ र बालबालिकाको अन्नप्राशनको लागि रकम तिरेर चाँगुनारायणमा पूजा गराउने पाइनेछ ।
सोको लागि जन्मदिनलगायतको खुसीको अवसरको पूजाको लागि ५५० रुपैयाँ, विवाहको वर्षगाँठको पूजाको लागि एक हजार १०५ र अन्नप्रासन पूजाको लागि एक हजार १०५ शुल्क तोकेको छ ।
यसबाट उठेको रकम चाँगुनारायणको पूजामा बाजा बजाउने वाद्यवादक, छिन्नमस्ता, किलेश्वर पुजा आदिका लागि सदुपयोग गरिने चाँगु नारायणका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए ।
विश्व सम्पदामा सुचीकृत काठमाडौँ उपत्यकाका सात वटा सम्पदामध्ये चाँगुनारायण पनि एक हो । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा चाँगुनारायण नगरपालिकामा चाँगुनारायण मन्दिर अवस्थित छ ।
Categorized in संस्कृति