शिक्षाविद् राजवंशीको स्मृति दिवस सम्पन्न
SamacharDesk – विजयरत्न | २०८३ बैशाख १४, सोमबार
शिक्षाविद् एवम् साहित्यकार सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवस सम्पन्न भएको छ ।
स्मृति दिवसको अवसरमा इन्स्टिच्यूटले एक समारोहको आयोजना गरेको हो । कार्यक्रममा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गराएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले २५ हजार रुपैयाँ नगदसहित मरहट्ठालाई सम्मान प्रदान गरे ।
समारोहमा इन्स्टिच्यूटका कर्मचारी सन्तपाल डङ्गोलले राजवंशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै इन्स्टिच्यूटलाई यो अवस्थासम्म ल्याउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गरे।
त्यस्तै इन्स्टिच्यूटका प्राचार्य राजवंशीले संस्थापक प्राचार्य र आफ्ना पिताको त्याग र समर्पणको स्मरण गरे । इन्स्टिच्यूटका पूर्व विद्यार्थी यादव भट्टराईले झण्डै तीन दर्जन कृतिका स्रष्टा लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरे ।
इन्स्टिच्यूटका भाइस प्रिन्सिपल सुनीता सिंह, सिद्धार्थ वनस्थली इन्स्टिच्यूट एलुम्नाइ एसोसिएसनका अध्यक्ष राजेश रौनियार, इस्टुका अध्यक्ष अर्जुन के. सी., शिक्षक ऋषिराम उपाध्यायलगायतले लक्ष्मण राजवंशीको योगदान र व्यक्तित्वमाथि प्रकाश पार्दै आआफ्ना मन्तव्य राखेका थिए ।
शिक्षा, साहित्य, समाजसेवा, प्रशासन एवं राजनीति क्षेत्रमा सुपरिचित सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशी नेपाली भाषा, नेपाल भाषा र अङ्ग्रेजी भाषामा कलम चलाउने स्रष्टाका रूपमा ख्यातिप्राप्त छन् ।
नेपाः राष्ट्रिय पार्टीबाट समानुपातिकमा दोश्रो संविधान सभामा सभासद् बनेका राजवंशीले तत्कालीन समयमा सभामुख र उपसभामुखले राजीनामा दिँदा संसदका ज्येष्ठ नागरिकका हैसियतले सभामुखको भूमिका समेत निर्वाह गरेका थिए ।
Categorized in समाज




