सरकारले निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिने
SamacharDesk | २०७८ फाल्गुण १९, बिहिबार

नजिकिंदो स्थानीय तह निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरेको छ ।
आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो।
निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।
यस्तै उक्त मितिमा कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका दिने जस्ता कृयाकलापहरु सञ्चालन हुने आयोगले जनाएको छ ।
यसैगरी स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भैरहेको र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
Categorized in राष्ट्रिय