सनातन धर्मको संरक्षणका लागि अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड
SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८१ जेठ २७, आइतबार
सनातन धर्म संस्कृतिको संरक्षण गर्नका लागि यससँग सम्वन्धित इतिहास, दर्शन, नैतिक शिक्षा आदिको अध्ययन, अनुसन्धान गर्दै पुस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
काठमाडौं उपत्यकाका आदिवासी ब्राह्मण समुदायको रुपमा लिइने राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाज, भक्तपुर समितिले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
राजोपाध्याय समाज जिल्ला समन्वय समिति भक्तपुरले शनिबार ‘सनातन धर्म संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा राजोपाध्याय समाजको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले अहिलेको अवस्थामा राजोपाध्याय ब्राह्मणहरुको अस्तित्व संकटमा परेको हो कि भन्ने भान हुन थालेको बताए । राजोपाध्यायहरुले आफुले आफैलाई चिन्न नसक्दा यस्तो अवस्था आएको उनको भनाई हो ।
‘वर्तमान समयमा राजोपाध्याय ब्राह्मणहरु कस्तुरी मृग भएको छ । कस्तुरी आफैसँग छ, तर बाहिर खोज्दै हिँडेको छ । आफुभित्र भएको खुबी उजागर गर्नुस् र त्यो खुबीलाई अर्को पुस्तामा पनि दिनुस् न’ नृत्य कलाकार र निर्देशक समेत रहेका अध्यक्ष संजयले भने ।
पुरानो पुस्तासँग भएको ज्ञान नयाँ पुस्तामा पुस्तान्तरण गरिए सनातन धर्म र संस्कृतिको मौलिकता नयाँ पुस्ताले पनि बुझ्न र बुझाउन सक्ने संजयको विचार हो ।
चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले सनातन धर्म संस्कृतिमा निरन्तर प्रहार भइरहेको जनाउँदै तिनै प्रहार गर्नेहरुले नै हरेक कुरामा हिन्दुकरणको आरोप लगाउने गरेको दावी गरे ।
पुस्तौंदेखि आफ्नो परिवारले मूलपूजारीको रुपमा चाँगुनारायणको सेवा गर्दै आएको बताउँदै अचेल हिन्दुकरणको आरोप लगाएर चाँगुनारायणलाई आफुले कहिल्यै नदेखेको देउताको नाम दिइरहेको उनले बताए ।
‘चाँगुनारायणकाे स्थापनकालदेखि मेरै पुर्खाहरुले र अहिले आएर मैले नै चाँगुनारायणको नित्य र पर्व पूजाहरु गर्दै आएका छु । अचेल चाँगुनारायणलाई मैले यहाँ कहिल्यै नदेखेको देउताको नाम दिइ हामीलाई नै हिन्दुकरणको आरोप लगाइरहेका छन् । के यो धर्ममाथि प्रहार होइन ?’ चाँगुनारायणका मूल पूजारी चक्रधरानन्दले प्रश्न तेर्साए ।
समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय, महासचिव बिराजकाजी राजोपाध्यायले धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न संगठित भएर, एक अर्का बीच अन्तरक्रिया गर्दै, आफुसँग भएका ज्ञानको आदान प्रदान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
व्यक्तिगत भावना, झैंझगडा आदिलाई एकातिर राखेर सामाजिक उत्थानका र धर्म परम्परा संरक्षणका लागि सबैजना संगठित हुनुपर्नेमा राजोपाध्यायद्वयले जोड दिए ।
समाजको भक्तपुर समितिका संयोजक गिरीशराज शर्मा राजोपाध्यायले धर्म, संस्कृति क्षेत्रमा विद्यमान समस्याको समाधान खोज्न सबैलाई संगठित गरी निरन्तर अन्तरक्रिया, सम्वाद गर्दै जाने प्रतिवद्धता जनाए ।
स्थानीय धर्म संस्कृतिका संस्कृतिविद् हरिशरण राजोपाध्याय, मृगेन्द्रराज सुवेदी, सरोजन शर्मा, धनेशराज राजोपाध्यायले इतिहास, धार्मिक ग्रन्थको साथै संस्कृत भाषाको पनि अध्ययन गर्नुपर्नेमा जोड दिँदै आआफ्ना विचार राखे ।
धर्म, संस्कृतिसँग सम्वन्धित गतिविधिहरुलाई समयसापेक्ष आधुनिक प्रविधिसँग पनि जोड्नुपर्ने सुझाव कार्यक्रममा दिइएको थियो ।
Categorized in संस्कृति