arin enterprises

तालिबानले महिला अधिकार उल्लंघन गरेकोमा एचआरडब्लूको चिन्ता

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २५, बुधबार

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले अफगानिस्तानको तालिबान शासनमा महिला अधिकार उल्लंघनका घटना बढेको भन्दै चिन्ता पोखेको छ ।

तालिबानले हालै उर्दी जारी गर्दै महिलाहरुलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन भनेको छ ।

सोही उर्दीको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लंघनको सूची लामो हुँदै गएको जनाएको छ ।

साथै महिलाहरूलाई घरबाहिरका काममा र किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको पनि एचआरडब्लुले आलोचना गरेको छ ।

सन् २०२१ को सेप्टेम्बरमा तालिबानले सत्ता कब्जा गरेपछि महिला अधिकारमा आफूहरू लचिलो बन्ने प्रतिबद्धता व्यक्त गरे पनि प्रतिवद्धताको पालना भने नगरेको दावी गरिएको छ ।

तालिबानहरुले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउनसमेत गार्‍हो भएको पनि एचआरडब्लूले जनाएको छ ।

यस्तै तालिबानले सत्ता कब्जा गरेपछि महिला र किशोरीहरूमाथि भएको दुर्व्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूले निन्दा गर्दै वक्तव्य निकालेको थियो ।

तर पनि महिला र बालिकाहरूको अधिकार रक्षाका लागि तालिबानलाई दबाब नदिएको उक्त संस्थाले बताएको छ ।

Categorized in अन्तर्राष्ट्रिय