arin enterprises

'संस्कृति र व्यवसाय दुवै क्षेत्रको विकासको चुनौती लिएको छु'

SamacharDesk – बिराज | २०७९ बैशाख २६, सोमबार

आसन्न स्थानीय तहको निर्वाचनको क्रममा सबै आआफ्नो क्षेत्रमा प्रचार प्रसारमा जुटिरहेका छन् । यसै क्रममा काठमाडौं महानगरपालिका १६ वडामा भने धेरैको चासो रहेको छ । काठमाडौं महानगरपालिका क्षेत्रको सबैभन्दा ठुलो वडा भएको कारणले पनि धेरैको चासो यस वडामा रहेको हो ।

करीब २१ हजार मतदाता रहेको यस वडाको निर्वाचन स्थानीय तहमा कुनै वडाको नभई क्षेत्रीय चुनाव नै हो कि जस्तो हुन्छ । व्यापारिक साथै सांस्कृतिक दृष्टिकोणले निकै महत्वपूर्ण यस वडा जन प्रतिनिधिको लागि ठुलै चुनौती भन्दा फरक नपर्ला ।

यस वडामा वडाध्यक्ष पदका लागि नेकपा (एस) बाट लक्ष्मण गमालले उम्मेदवारी दिएका छन् । भ्रष्टाचार र अनियमितताको अन्त्यलाई गमालले आफ्नो पहिलो प्राथमिकतामा राखेका छन् ।

त्यस्तै वडाको सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्ध्दन साथै प्रवर्ध्दन गर्दै सांस्कृतिक क्षेत्रको रुपमा पनि वडाको पहिचान बनाउने आफ्नो योजना रहेको गमालले सुनाए ।

‘यहाँ सोर्‍हखुट्टे पाटी, पकनाजोल गणेश, ढुङ्गेधाराको साथमा थुपै्र प्रशिद्ध मठमन्दिर, जात्राहरु छन् । त्यस्तै बालाजु २२ धारा पनि यसै क्षेत्रभित्र छ । साँस्कृतिक सम्पदाको संरक्षणको साथमा व्यवसायीको लागि लगानीको सुरक्षित वातावरण बनाउनका लागि मैले काम गर्नेछु’ गमालको भनाई हो ।

जेष्ठ नागरिक, महिला र बालबालिकालाई सकेसम्म निःशुल्क, नभए न्यून शुल्कमा स्वास्थ्य उपचार, जेहेन्दार विपन्न विद्यार्थीलाई छात्रवृत्तिलगायतका कार्यक्रम ल्याई स्वास्थ्य र शिक्षा आम जनताको पहुँचमा ल्याउने योजना उनले सुनाए ।

त्यस्तै डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै सेवाग्राहीलाई छिटो छरितो सेवा दिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

Categorized in स्थानीय