'वडाका मूर्त अमूर्त सम्पदा,संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनेछु'
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २७, मंगलबार

आउँदो वैशाख ३० गते नेपालभरि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । देश पुरै निर्वाचनको माहौलमा डुबिसकेको छ ।
यस पटकको निर्वाचनमा भने स्वतन्त्र रुपमा उम्मेवारी दिनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका भित्र हेर्ने हो भने मेयर पदमा उम्मदेवारी दिने ५६ जनामध्ये ३५ जना त स्वतन्त्र उम्मेदवार छन् ।
राजनीतिक दलहरुको रवैयाका कारण वाक्कदिक्क भएकाहरुले दलीय संयन्त्र तोड्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी दलीय गठबन्धनबाट असन्तुष्टहरुले पनि बागी उम्मेवारी दिएकाले पनि स्वतन्त्र उम्मेदवारहरुको संख्या बढेको हो ।
काठमाडौं महानगरपालिका वडा नं २५ मा पनि २०७४ सालको निर्वाचनमा ने.क.पा एमालेबाट वडा सदस्यमा निर्वाचित डार्विन श्रेष्ठले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यो बेला सुर्य चिन्हबाट निर्वाचित भएका श्रेष्ठको चुनाव चिन्ह यसपालि आँखिझ्याल रहेको छ । प्यानलैसहित श्रेष्ठ चुनावी मैदानमा उत्रेका हुन् ।
उनकै प्यानलमा गत निर्वाचनमा पेन्चिस चुनाव चिन्ह लिएर वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका सरोज श्रेष्ठ (सिम्पु) पनि रहेका छन् ।
यस पालिको चुनावमा सरोजको साथमा डार्विनकै प्यानलका महिला वडा सदस्य सजना बज्राचार्यको पनि चुनाव चिन्ह आँखिझ्याल नै रहेको छ । सुमन राज जोशीको भने रिक्सा चिन्ह रहेको छ ।
वडाध्यक्षका प्रत्याशी श्रेष्ठलाई विगतका दिनमा ढल निकासको समस्या समाधानमा खट्ने जनप्रतिनिधिको रुपमा लिइन्छ ।
अघिल्लो कार्यकालमा आफुले शुरु गर्न खोजेर पनि गर्न नपाएका र शुरु गरेर अधुरो रहेको कामलाई अबको कार्यकालमा पूर्णता दिने योजना श्रेष्ठले सुनाए ।
उनको प्यानलका वडा सदस्य उम्मेदवार सरोजलाई पनि स्थानीय समाजमा सक्रिय समाजसेवीको छवि रहेको छ ।
वडाका मूर्त अमूर्त सम्पदा, संस्कृतिको संरक्षण, सम्वर्ध्दनको साथमा प्रवर्ध्दन गर्दै वडाबासीको आर्थिक उन्नतीको लागि आफुहरुले काम गर्ने श्रेष्ठले बताए ।
Categorized in स्थानीय