नृत्यकलाविद राजभण्डारी र ई. न्याछ्यं सम्मानित
SamacharDesk – कृतन मंगल जोशी | २०८३ बैशाख ९, बुधबार
संस्कृति शिरोमणी हरिराम जोशीबाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटबाट कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ वितरण गरिएको छ ।
इन्स्टिच्यूटले आइतवार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारहरु प्रदान गरेको हो ।
कदम पुरस्कारबाट वीणा जोशी राजभण्डारीलाई प्रदान गरिएको छ । यो पुरस्कार इन्स्टिच्यूटका संस्थापक हरिराम जोशीले आफ्नी अर्धाङ्गिनी स्वर्गीय कदम बाबा जोशीको स्मरणमा स्थापना गरेका हुन् ।
त्यस्तै हरिराम जोशी संस्कृति पुरस्कार यस पटक ई. बदनलाल न्याछ्योँलाई प्रदान गरिएको छ ।
नृत्य कला क्षेत्रमा अध्ययन अध्यापन गर्दै नेवार समुदायको परम्परागत मुकुण्डो नाच जस्तो गहकिलो पुस्तक तयार गर्नुभएकोमा वीणा जोशीलाई सम्मानित गर्ने निर्णय भएको संस्थापक अध्यक्ष जोशीले जानकारी दिए ।
त्यस्तै जेष्ठ पूर्णिमा (ज्याः पुन्ही) को दिनलाई राष्ट्रिय संगीत दिवसका रुपमा पुनः स्थापित गर्न सफल ई. बदन लाल न्याछ्योँज्यूको योगदानको कदर स्वरुप हरिराम जोशी संस्कृति पुरस्कार २०८२ प्रदान गरिएको पनि उनले जानकारी दिए ।
सम्मानित दुवैलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदार भक्त माथेमाले पुरस्कार प्रदान गरे ।
कार्यक्रमम बोल्दै पूर्वउपकुलपति माथेमाले विदेशीहरु छात्रवृतिमार्फत यहाँ निर्धक्क अध्ययन गरे जस्तै नेपालीहरुले पनि आफ्नै संस्कृति लगायतका क्षेत्रमा निर्धक्क लागिरहन राज्यले उत्प्रेरणा बढाउने नीति लिनु आवश्यक भएकोमा जोड दिए ।
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले नेपालको अमूर्त सम्पदाको सूचीकरण कार्यमा यःमरीको विशेषता सफलतापूर्वक स्थापित गरिएको, ललितपुरलाई क्रियटिभ सिटी अफ म्यूजिकका रुपमा दर्ता भइ मान्यता प्राप्तिको कार्य भैरहेको चर्चा गरे ।
वर्षको सबैभन्दा लामो दिनको रुपमा रहेको ज्याःपुन्हिलाई राष्ट्रिय संगीत दिवसका रुपमा स्थापित गर्ने प्रतिवद्धता महानगर प्रमुख महर्जनले जनाए ।
Categorized in समाज




