जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठको सैद्धान्तिक दस्तावेज पारित
SamacharDesk – बिराज | २०८२ श्रावण ८, बिहिबार

जनता समाजवादी पार्टीको हालै सम्पन्न सङ्घीय परिषदको प्रथम बैठकले पारित गरेको सैद्धान्तिक दस्तावेज सार्वजनिक गरिएको छ ।
पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठद्वारा प्रस्तावमा कृत्रिम बौद्धिकताको युगमा समाजवाद प्राप्तिको बाटोको सन्दर्भमा विस्तृत चर्चा गरिएको छ ।
दस्तावेजले कुनै पनि व्यक्ति दुई कार्यकाल बढी राष्ट्रपति हुन नपाउने, राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग, प्रदेश र जातिको हुने व्यवस्था प्रस्ताव गरेको छ ।
त्यसैगरी खुल्ला सूचीमा आधारित समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन हुने व्यवस्था गर्ने कुरा पनि प्रस्ताव गरिएको छ ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १७ वर्षको अवधिमा अर्थतन्त्रमा भएका सकारात्मक प्रवृत्तिहरू यस दस्तावेजमा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
त्यसरी नै वर्तमान युगको सङ्घीयता, सहकारी सङ्घीयता भएको उल्लेख गर्दै सङ्घीयता कार्यान्वयनपछि ७ वटा प्रदेश र स्थानीय तहलाई गरिएको बजेट विनियोजनको पनि विश्लेषण गरिएको छ ।
पार्टीको नीति र कार्यक्रमसम्बन्धी यस दस्तावेजलाई ’समाजवादको नेपाली बाटोः सङ्घीय समाजवाद’ भनिएको छ ।
दस्तावेजमा समष्टिगत अर्थतन्त्र, आार्थिक क्षेत्र, पूर्वाधार विकास क्षेत्र, सामाजिक क्षेत्र, साँस्कृतिक रूपान्तरण, राष्ट्रिय सुरक्षा तथा सार्वजनिक प्रशासन र विविध विषयहरू उल्लेख गरिएको छ ।
त्यसरी नै यस दस्तावेजमा सङ्घीय समाजवादी व्यवस्था स्थापनाको रणनीति, कार्यनीति र कार्यभारहरूबारे उल्लेख गरिएको छ ।
जसपा संघीय परिषद अध्यक्ष श्रेष्ठको सैद्धान्तिक दस्तावेज पूरा पढ्न यहाँ क्लिक गर्नुहोला
Categorized in राजनीति