बाढी पहिरो पिडितका लागि काठमाडौँ महानगरपालिकाको मनोसामाजिक केन्द्र सञ्चालनमा
SamacharDesk – बिराज | २०८३ भाद्र १८, बिहिबार
रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
चिन्ता, तनाव, दुःख तथा अन्य विभिन्न मनोसामाजिक समस्याहरूको सामना गरिरहेका नागरिक लक्षित केन्द्रमा मनोविदहरुले मनोसामाजिक परामर्श प्रदान तथा सहयोग गर्ने बताइएको छ ।
केन्द्रमा प्रभावित व्यक्तिहरूले आफ्ना अनुभव, भावना तथा चिन्ता व्यक्त गर्न सक्ने सुरक्षित र सहयोगी वातावरण मिलाइएको छ ।
विभागका प्रमुख दिपककुमार के.सी.ले बाढीबाट घाइते भएर वा अन्य कुनै प्रभाव परेर काठमाडौँका अस्पताल तथा अन्य ठाउँमा बसिरहेका व्यक्तिहरुलाई सेवा प्रदान गरिने बताए ।
महानगरपालिकाले सञ्चालन गरेको विपद व्यवस्थापन हेल्प डेक्स एवं विपद सूचना केन्द्रमा आएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा केन्द्रमा पठाइनेछ ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका र सम्वेदनशील समूहहरूलाई विशेष ध्यान दिइने र सहयोग प्रदान गरिने केन्द्रले जनाएको छ ।
मनोसामाजिक सहयोग सम्बन्धी सिद्धान्त तथा मापदण्डहरूको पालना गर्दै सेवा लिने व्यक्तिहरुको व्यक्तिगत गोपनीयता र सम्मानलाई व्यावसायिक ढङ्गले सञ्चालन गरिने बताइएको छ ।
Categorized in स्थानीय




