लिभरपुलले जित्यो एफए कप उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १, आइतबार

एफए कपको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो ।
वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे । लिभरपुलका साडियो माने पेनाल्टीमा चुके ।
यस्तै चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे । तर, चेल्सीका सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टीमा गोल गर्न चुक्दा लिभरपुलले बाजी मार्यो ।
यो सहित लिभरपुलको आठौं एफए कप उपाधि हो । पछिल्लो पटक लिभरपुलले २००६मा एफए कप उपाधि जितेको थियो ।
यस्तै चेल्सी भने लगातार तेस्रो सिजन फाइनलमा पराजित भएको छ ।
Categorized in स्पाेर्ट्स