arin enterprises

स्थानीय निर्वाचन २०७९: मार्ला त बाजी सुमनले ?

SamacharDesk – बिराज | २०७९ बैशाख २१, बुधबार

आसन्न स्थानीय तहको निर्वाचनको क्रममा पुरै देशको ध्यान राजधानी काठमाडौं महानगरमा परेको छ । काठमाडौं महानगरको प्रमुख पदमा कसले जित्ला त भनेर प्राय देशैभरी अड्कलबाजी र ठोकुवासमेत भइरहेका छन् ।

उम्मेदवारी दिएका उम्मेदवारहरुले मतदातासँग विभिन्न माध्यम र तरीकाले मत त मागिरहेका छन् नै, साथै निर्वाचन आफैंले जित्ने दावीसमेत गरिरहेका छन् । यसको साथमा मतदाताबीचमा पनि विरोध र समर्थन देखिएका छन् ।

काठमाडौं महानगरमा विशेष गरी दुई दल नेकपा (एमाले) र नेपाली काँग्रेसको चर्चा बढि छ । नेकपा (एमाले) बाट काठमाडौं महानगरका पुर्व मेयर केशव स्थापितलाई अगाडी ल्याएको छ भने नेपाली काँग्रेसबाट सर्वमान्य नेता गणेशमान सिंह र नेतृ गणेशमान सिंहकी बुहारी, प्रकाशमानकी श्रीमति सिर्जना सिंहलाई गठबन्धनको उम्मेदवार बनाएको छ ।

साथमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट भने वरिष्ठ कलाकार मदनदास श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

यी चर्चित नामहरुबीच स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रत्याशीहरु पनि छन् । काठमाडौं महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार र्‍यापर साथमा इन्जिनियर बालेन शाह युवाहरुमाझ लोकप्रिय देखेका छन् ।

त्यसैगरी सडक विस्तार पिडितको पक्षमा आवाज उठाउँदै निरन्तर संघर्षमा रहेका सुमन सायमी पनि स्थानीय जनसमुदायमा चर्चित देखिएका छन् । स्थानीय निर्वाचनमा दलीय संयन्त्र तोड्नुपर्ने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

कालिमाटीमा स्वीट केभ (जीवन दाईया पसः) नामक मिठाई पसल संचालन गर्दै आएका व्यापारी पृष्ठभूमिका सुमन सायमी पछिल्लो समय व्यापार भन्दा आन्दोलनमै व्यस्त रहने गरेका छन् । उपत्यकामा सडक विस्तारको नाममा जथाभावि घर भत्काउँदै स्थानीयलाई विस्थापित बनाएको भन्दै उनी आन्दोलनमा होमिएको करीब एक दशक बढि भइसक्यो ।

गैरन्यायिक सडक विस्तारको विरोधको साथमा स्थानीय भाषा, सम्पदाको पक्षमा समेत आवाज उठाउँदै उनी जेलसमेत परिसके । चुनावको बेला मात्र नभएर पिडितको पक्षमा सदैव सडकमा रहेको व्यक्ति भन्दै सामाजिक संजालमा उनको समर्थनमा पोस्टहरु देखिएका छन् ।

समाचारडेस्कसँगको कुराकानीको क्रममा आफु मेयर भएर जितेर आएपछि काठमाडौं महानगरको भूमिको संरक्षणलाई प्राथमिकतामा राखेर योजना बनाई काम गर्ने बताउनुभयो ।

‘हाम्रो पहिचान नै भूमिसँग जोडिएको छ । यहाँको सामाजिक, सांस्कृतिक पहिचान, सम्पदा सबै भूमिसँग जोडिएको छ । सर्वप्रथम यहाँको भूमि बचाउनुपर्यो’ सायमीले भने ।

आफु शुरुदेखि नै काठमाडौं उपत्यकाको भूमि संरक्षणको लागि नै संघर्षरत रहेको बताउँदै सायमीले काठमाडौंको दुरावस्थामा अरुले ध्यान नदिएकै कारण आफु काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवार बनेको बताउनुभयो ।

‘काठमाडौंमा पानीको सतह सुक्दै गएको छ । काठमाडौं भास्सिँदैछ भनेर विज्ञहरुले भनिरहेको छन् । यसतर्फ खै कसले ध्यान दियो ?’ सायमीले प्रश्न तेर्साए ।

काठमाडौंको अस्तित्त्व बचाउनुपर्ने अवस्थालाई ध्यान दिएर दीर्घकालीन योजना बनाउँदै आफु अघि बढ्ने सायमीले सुनाए ।

योसँगै स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको उत्थानको लागि आफु सक्रिय रहने सायमीको भनाई छ । महानगरवासीको जीवनस्तर उकास्नको लागि, काठमाडौं महानगरको विकासको लागि आफुसँग योजना रहेको र सोही योजना अनुसार आफुले काम गर्ने उद्घोष उनले गरे ।

Categorized in स्थानीय