मगर संघको महाधिवेशन आजबाट
SamacharDesk – बिराज | २०८३ जेठ ८, शुक्रबार
नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुने भएको छ ।
आज महाधिवेशनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रम रहेको छ ।
यस अघि मगर समुदायको मौलिक संस्कृति, भेषभूषा र पहिचान झल्किने सांस्कृतिक र्याली हुनेछ । भृकुटीमण्डपबाट सुरु हुने र्याली पुतलीसडक हुँदै कमलादी पुगेर सभामा परिणत हुने संघले जनाएको छ ।
आजबाट सुरु हुने महाधिवेशन आउँदो जेठ १० गतेसम्म हुनेछ ।
१३औं महाधिवेशनको लागि “ऐतिहासिक मगरात सभ्यता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगरात दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पारौं” भन्ने मूल नारा तय गरिएको छ ।
महाधिवेशनमा देशभरका ६८ जिल्ला, सात प्रदेश समिति, ९ भ्रातृ संस्था तथा १३ प्रवास शाखाबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ । महाधिवेशनको बन्दसत्र जेठ ९ र १० गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सञ्चालन हुने जनाइएको छ ।
संघको स्थापना वि.सं. २०३९ फागुन १५ गते भएको हो । नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर समुदाय सबैभन्दा ठुलो जनसंख्या भएको जातीय समुदाय हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको कुल जनसङ्ख्या २० लाख १३ हजार ४ सय ९८ रहेको छ । यो नेपालको कुल जनसङ्ख्याको ६.९ प्रतिशत हो ।
Categorized in समाज




