arin enterprises

फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने

SamacharDesk – राम डंगोल | २०७९ जेठ २७, शुक्रबार

फोहोर मैला व्यवस्थापन संसदीय समिति गठन हुने भएको छ ।

सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइरहँदा सांसद मानन्धरले आफ्नै अध्यक्ष उक्त फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।

पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो ।

शुक्रबार सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । त्यसका लागि सरकारीभन्दा पनि जनप्रतिनिधि संलग्न रहेको समिति बनाउनु राम्रो हुने बताइन् ।

नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिहरूले फोहोरको समस्या बेला बेला उठ्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका थिए ।

सोही क्रममा मन्त्री झाक्रीले मन्त्री तथा कर्मचारीहरूबाट भन्दा पनि प्रतिनिधिसभा सदस्यहरू संलग्न समिति गठन गर्दा राम्रो हुने बताइन् । त्यसका लागि प्रधानमन्त्रीसँग छलफल गरिने र संसद्‌बाट समिति गठन गरिने बताइन् ।

यस विषयमा आज संसदमा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न आपूm समक्ष भएको जिकिर गरे । उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ, तर म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ ।

सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस्’, उनले भने । काठमाडौंको फोहोर व्यवस्थापन आफुले मात्रै गर्न सक्ने उनको दाबी छ ।

स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको एक महिना वितिसकेको तर, फोहोरको समस्या झन दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ ।

वर्तमान सरकार बनेको पनि एक वर्ष भएको भन्दै फोहोर व्यवस्थापन गर्नका लागि एउटा इच्छा शक्ति भएको व्यक्ति चाहिएको र त्यो व्यक्ति आफू भएको बताए ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082