लकस नेपालको नेतृत्वमा संचारकर्मी बज्राचार्य
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ ३, शनिबार
लकस नेपालको अबको नेतृत्व संचारकर्मी साथै गायक सुरजबीर बज्राचार्यले गर्ने भएका छन् । लकस नेपालको ५औं अधिवेशनले संचारकर्मी बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ज्ञानीशोभा महर्जन, सचिवमा धर्मकृष्ण सिकर्मी र कोषाध्यक्ष पदमा रश्मिला शाक्य चयन भएको छन् । सदस्यहरुमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य (शाक्य सुरेन), राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार, झवेन्द्रप्रकाश भट्टराई रहेका छने ।
कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा पछि संस्थाका कानूनी सल्लाहकार तथा निर्वाचन कमिटी संयोजक किरण शाक्यले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा सगरमाथा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रामबहादुर के.सी.लाई लकस नेपाल बर्ष ब्यक्तित्व २०८२ बाट सम्मानित गरिएको थियो ।
श्री नवजागरण युवा क्लब, पहाडे थापागाउँ र फर्सिडोल टोल विकास संस्थालाई संस्थागत सम्मान गरिएको थियो ।
लकस नेपालले अमेरिकी संस्था आउटरिच इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत रहेका कार्यक्षेत्रहरुबाट प्रक्रियागत रुपमा छनौट गरी लकस नेपाल बर्ष ब्यक्तित्व सम्मान प्रदान गरेको जनाएको छ ।
संस्थाले सहभागितामूलक मानव विकास कार्यक्रम अन्तर्गत पहाडे थापागाउँ, सिखर्पा र कोञ्ज्योसोम गाउँपालिकाको तल्लो नल्लुका कार्यक्रम समापन गरिसकेको छ ।
हाल गोदावरी नगरपालिका वडा ४ बडिखेलमा ठूलो खोला आमा समूह, वनदेवी टोल विकास संस्था, वडा नं. ६ लप्सेमा लप्से टोल विकास संस्था, वडा ९ इताहिटीमा इताहिटी टोल विकास संस्था, बागमती गाउँपालिका वडा ३ भट्टेडाँडामा सातकन्या सामुदायिक समूह, ललितपुर महानगरपालिका २२ वडा फर्सिडोलमा फर्सिडोल टोल विकास संस्था लगायतका समूहहरुको सहभागितामा कार्यक्रम निरन्तर छ ।
साथै कल्चरल सर्भाइभरको किपर्स अफ द अर्थ फण्डको सहयोगमा नेपालभाषा तथा लिपि प्रवद्र्धन परियोजना संचालनमा रहेको छ ।
यस परियोजना अन्तर्गत नेपालभाषा, प्रचलित नेपाल लिपि र रञ्जना लिपि कक्षा संचालन भइरहेका छन् ।
Categorized in समाज




