arin enterprises

वरिष्ठ पत्रकार सुरेश किरणको स्मृति ग्रन्थ प्रकाशित

SamacharDesk – बिराज | २०८३ बैशाख १०, बिहिबार

वरिष्ठ पत्रकार साथै भाषा आयोगका सदस्य स्वर्गीय सुरेश किरण मानन्धरको स्मृति ग्रन्थ प्रकाशन भएको छ ।

साहित्यकार तथा संस्कृतिविद समेत रहेका मानन्धरको ४५ दिनको पुण्य तिथिको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले उक्त स्मृति ग्रन्थ प्रकाशन गरेको हो ।

पत्रकार राष्ट्रिय दबूले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्मृति ग्रन्थनको लोकार्पण गरेको हो ।

बुद्ध विहार भृकुटीमण्डपका प्रमुख भिक्षु कौडण्य, नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापति, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेश काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल लगायतले संयुक्त रुपमा स्मृति ग्रन्थको लोकार्पण गरे ।

नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले मानन्धर आधुनिक युगको धर्मादित्य धर्माचार्य नै भएको विचार राखेका थिए ।

‘धर्मादित्य धर्माचार्य भन्ने वित्तिकै हामी मातृभाषा पत्रकारिताका प्रणेता भनेर सम्झन्छौं । सुरेश किरण मानन्धर आधुनिक युगका धर्मादित्य नै हुन्, जसले नेपालभाषा पत्रकारितालाई निरन्तरता र गति दिन आजीवन योगदान दिए’ वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई हो ।

पत्रकार दबूका उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठले मानन्धरकै प्रेरणा र मार्गदर्शनबाट धेरै नयाँ पत्रकारहरुले कलम चलाउन थालेको स्मरण गरे ।

फोनिजका अध्यक्ष लक्की चौधरीले मानन्धरको लेख रचना र श्रृजनामा सामाजिक रूपान्तरणको चेत झल्किने गरेको विचार राखे ।

प्रेश काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुषाल, नेपालभाषा एकेडेमिका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार लगायत, पत्रकार दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलगायतले मातृभाषा पत्रकारिता, भाषा आन्दोलनदेखि लिएर संस्कृति, सम्पदाको अध्ययन अनुसन्धान क्षेत्रमा मानन्धरको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै साहित्यकार प्रतिसरा सायमि र रजनीमिलाले मानन्धरको स्मृतिमा कवितामा सुनाएका थिए ।

३६४ पृष्ठको स्मृतिग्रन्थमा जनकवि दुर्गालाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, कामपाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य, गोरखापत्र दैनिकका पुर्व सम्पादक पुष्कर माथेमा लगायतका विभिन्न साहित्यकार, लेखकका ९१ वटा कविता, लेखहरु रहेका छन् ।

वरिष्ठ पत्रकार तथा मानन्धरको गत फागुन २६ गते हृदयघाटका कारण निधन भएको थियो ।

Categorized in समाज