‘राजनीतिप्रति भरोसा र विश्वास जगाउन मेरो उम्मेदवारी’
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २६, सोमबार

ललितपुरको स्थानीय समाजमा निकै लोकप्रिय व्यक्ति हुन् अजरमान जोशी । ललितपुरमा जोशीको उपस्थिति बिना कुनै सभा, समारोह नै हुँदैन कि भन्ने सम्मको स्थिती छ ।
हरेक सामाजिक गतिविधिमा अजरमानको उपस्थिती रहेकै हुन्छ । तिनै जोशीले स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
ललितपुरको हस्तकला, पर्यटन लगायतका उद्योग व्यवसाय क्षेत्रको विकासका लागि जीवनको आधा समय खर्चिनुहुने जोशीको उम्मेदवारीले चुनावी परिदृश्य थप रोचक तुल्याएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले गत शनिबार उनलाई खरायो चुनाव चिन्ह दिएको छ । अहिले चुनावी परिणाम आफ्नो पोल्टामा पार्न जोशी खरायौ झै दौडिरहनुभएको छ ।
महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (माओवादी) केन्द्रबीच गठबन्धन बनेको छ । उपमेयरमा नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, एमालेबाट मञ्जली (आस्था) शाक्य, राप्रपाबाट स्वर्णीमा शाक्यले उम्मेदवारी दिनुभएको छ ।
दुई पार्टीबीच गठबन्धन हुँदा एकातिर एक पार्टीको समर्थकले अर्को पार्टीको चुनाव चिन्हमा छाप लगाउँछ या लगाउँदैन भन्ने अन्यौलको स्थिती पनि छ । अर्कोतिर गठवन्धनका उम्मेदवारहरुले गठबन्धन दलको सबै मत एकै स्थानमा पर्ने भएकोले जित सुनिश्चित भएको दावी गरीरहेका छन् ।
यस्तो बेला जोशीको उम्मेदवारले उपमेयरको चुनावी आकंलनको अंकगणित फेरिएको छ ।
सिंगो जीवन सामाजिक क्षेत्रमा बिताएका जोशीको उपमेयरमा उम्मेदवारीले सर्वसाधारण जनतामाझ निकै उत्साहको वातावरण थपेको ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सविन श्रेष्ठको भनाई छ ।
‘दलहरुबीच आफ्नो नितान्त गुट, वैयक्तिक र सत्ता स्वार्थको राजनीतिले गर्दा जनता निराश भइरहेको बेला सामाजिक व्यवहारबाट जनताको सेवक रुपमा प्रमाणित व्यक्तिले उम्मेदवारी दिएको सन्दर्भले हामीलाई हौस्याएको छ’ पूर्व अध्यक्ष श्रेष्ठले भने ।
२०४९ सालदेखि २०७४ सालसम्म ललितपुर उद्योग वाणिज्य संघमा सक्रिय रहेका जोशी संघको २०६८ र २०७० मा गरी दुई पटक अध्यक्षमा निर्वाचित भएका थिए । जोशीकै अगुवाईमा महानगरीय प्रहरी प्रभाग मंगलबजारको भवन निर्माण भएको थियो ।
‘नागरिक समाज, आम उद्यमी व्यवसायी, सर्वसाधारण जनतामात्र नभई राजनीतिक दलमा लागेका इमान्दार कार्यकताहरु पनि पार्टीभित्रको गतिविधि, नेता विशेष, गुट विशेषको कामले वाक्क दिक्क भइसकेको स्थितीमा राजनीतिप्रति भरोसा र विश्वास जगाउन मैले उम्मेदवारी दिएको हुँ’ जोशीले भन्नुभयो ।
२०६९ फागुणमा भएको भएको ललितपुर महोत्सव, पाटन दरबार क्षेत्रमा पहिलो पटक १३ वटा सिसिटीभी राख्ने कार्य, २०७२ सालको भूकम्पपछि राहत वितरण, भूकम्पबाट क्षतिग्रस्त सम्पदा संरक्षण र पुनर्निर्माणमा जोशीको योगदानलाई आम जनसमुदायले पटक पटक सम्झिने गरेका छन् ।
श्री शान्ति विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत भई काम गरेका जोशी हाल ललितपुरको नख्खुमा निर्माणाधीन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माणमा क्रियाशील हुनुहुन्छ ।
Categorized in स्थानीय