arin enterprises

लण्डनमा नेपाली फिल्म महोत्सव हुने

SamacharDesk – विजय रत्न | २०७९ जेठ १५, आइतबार

लण्डनस्थित नेपालीहरुको संस्था थर्ड आईले बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘फिल्म महोत्सव’ को आयोजना गर्ने भएको छ । महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्म्सले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संगीक्षा फिल्म्सका अध्यक्ष मनोज केसीले महोत्सवमा पाँच दिनभित्र दश वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । अध्यक्ष केसीले महोत्सवको अन्तिम दिन चलचित्रकर्मीहरुलाई सम्मानित समेत गरिने बताउनुभयो ।

महोत्सवमा नेपालबाट करिब तीन दर्जन चलचित्रकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहने बताइएको छ ।

भदौको अन्त्यतिर महोत्सवको आयोजना हुने आयोजकले जानकारी दिएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । टेलिभिजन, युट्युबलगायतका माध्यममा नआएका तर सिनेमा हलमा मात्र रिलिज भएका चलचित्रहरुमध्येबाट १० वटा चलचित्रलाई महोत्सवमा सहभागी गराइनेछ ।

महोत्सवको घोषणा सभामा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल, गायक यम बराल र राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह लगायतको उपस्थिती रहेको थियो ।

Categorized in पेजथ्री