सेमीफाइनल समीकरण पूरा
SamacharDesk – समाचारडेस्क – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ २५, सोमबार

रसियामा जारी विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुने भएका छन् । क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई हराएको थियो भने बेल्जियमले उपाधी दावेदार मानिएको ब्राजिललाई हराई सेमिफाइनलमा पुगेको हो ।
निकै राम्रो फर्ममा रहेको बेल्जियमलाई यसपाली उपाधी दावेदारको रुपमा धेरैले अनुमान गरेका छन् । झन् फुटबलको सबैभन्दा ठुलो शक्ति राष्ट्रको रुपमा लिइने, पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पनि हारको स्वाद चखाएपछि बेल्जियमको उपाधी दावेदारी झन बलियो बनेको छ ।
अहिलेसम्ममा एकपटक पनि फाइनलसम्मको यात्रा गर्ने अवसर नपाएको बेल्जियमसँग १९९९ को विश्वकप विजेता फ्रान्स खेल्दैछ । फ्रान्सले १९९८ मा विश्वकप जित्नुको साथै २००६को उपविजेता पनि हो । २००६मा फ्रान्स फाइनलमा ईटालीसँग टाइब्रेकरमा ५–३ ले हारेको थियो ।
त्यसैगरी बुधबार हुने दोश्रो सेमिफाइनल खेलमा क्रोएशिया र इङ्गल्यान्ड भिड्नेछन् । इङ्गल्यान्डले क्वाटरफाइनलमा स्वीडेनलाई पछि पार्दै सेमिफाइनल पुगेको हो भने क्रोएशियाले आयोजक राष्ट्र रसियालाई हराएको थियो ।
क्रोएशिया विश्वकपको ईतिहासमा दोश्रो पटक सेमिफाइनल पुगेको हो । सन् १९९८को विश्वकपमा पनि क्रोएशिया सेमिफाइनलसम्म पुगेको हो । त्यो बेलामा क्रोएशियाले आयोजक राष्ट्र फ्रान्ससँग २–१ गोलले हार व्यहोर्नुपरेको थियो ।
ईङ्गल्यान्ड २८ वर्षपछि सेमिफाइनलमा पुगेको छ । योभन्दा अगाडि ईङ्गल्यान्ड सन् १९९० मा सेमिफाइनल पुगेको थियो । त्यो बेला ईङ्गल्यान्ड सेमिफाइनलमा जर्मनीसँग टाइब्रेकरमा हारेको थियो ।
ईङ्गल्यान्डले सन् १९६६ मा आफ्नै देशमा आयोजना हुँदा एकपटक विश्वकप जितिसकेको छ भने क्रोएशियाले सेमिफाइनलबाट अगाडिको यात्रा अहिलेसम्म गर्न पाएको छैन ।
सेमिफाइनल पुगेको चार राष्ट्रमध्ये ईङ्गल्यान्ड र फ्रान्सले एक एक पटक कप उचालिसकेकका छन् । दुवै राष्ट्रले आआफ्नै देशमा विश्वकपको आयोजना हुँदा नै उपाधी जितेका थिए ।
अर्को दुइ राष्ट्र क्रोएशिया र बेल्जियम भने एक पटक पनि फाइनलसम्म पुग्न सकेको छैन ।
दुवै सेमिफाइनल खेलहरु नेपाली समय अनुसार राती ११ः४५ मा शुरु हुनेछ ।
Categorized in स्पाेर्ट्स