इन्धनको भाउ फेरी बढ्यो
SamacharDesk – बिराज | २०७८ कार्तिक २४, बुधबार

नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ ।
आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३।३ रुपैयाँ बढाएको छ भने खाना पकाउने ग्याँसको मूल्य एकैपटक ७५ रुपैयाँले बढाएको छ ।
नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य ११९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपिजि ग्याँसमा ७५ रुपैयाँले बृद्धि भएपछि प्रति सिलिण्डर एक हजार ५७५ रुपैयाँ प्रति सिलिण्डर कायम भएको छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा पनि प्रति लिटर ५ रुपैयाँले बृद्धि गरी १०१ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर ८९५ अमेरिकी डलर पुर्याइएको छ ।
यस अघि पनि निगमले गत कार्तिक १२ गते मात्रै पेट्रोल, डिजेल र मट्टितेलमा ३।३ रुपैयाँ र आन्तरिक र बाह्य इन्धनमा १० रुपैयाँले बढाएको थियो ।
नयाँ मूल्य आज राती १२ बजे बाट लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य लागू भइसकेपछि पनि निगमलाई १५ दिनमा करीब २ अर्ब, ६२ करोड घाटा हुने देखिएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्दै गरेको अवस्थामा आउँदो १६ नोभेम्बर २०२१ मा भारतीय आयल निगमबाट प्राप्त हुने नयाँ मूल्य पनि बृद्धि भएरै आउने देखिएको निगमका प्रवक्ता पुस्कर कार्कीले बताएका छन्र ।
निगमको घाटा कम गर्न आगामी दिनमा पनि इन्धनको भाउ बढाएरै जानुपर्ने बाध्यता रहेको प्रवक्ता कार्कीले जनाएका छन् ।
