arin enterprises

भूगोल पार्कमा भूकम्प स्मृति सभा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २, आइतबार

आज माघ महिनाको २ गते, सरकारी र गैर सरकारी विभिन्न तहबाट विभिन्न कार्यक्रम गरी भुकम्प स्मृति दिवस मनाईँदैछ । यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित २४ औं भुकम्प स्मृति दिवसका कार्यक्रम मनाइँदैछन् ।

यसै सन्दर्भमा १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँडले नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने विचार राख्नुभयो ।

‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ’ मन्त्री खाँडले भने ।

त्यसै क्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएको सन्दर्भ उठाउँदै प्राविधिक समस्याका कारण त्यस्ता संचरना पुनर्निर्माण रोकिएको प्रपट पार्नुभयो ।

‘यस किसिमका विभिन्न संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ तर, जिम्मेवारी पाएनौँ’ महानगर प्रमुख शाक्यले भन्नुभयो ।

स्मृति सभामा महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको उल्लेख गर्नुभयो ।

स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सभापछि गृहमन्त्री खाँडले जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गरेका थिए । भवन अवलोकनका क्रममा दमकलहरुको पनि अवलोकन गरिएको थियो ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षतिको सम्झनामा सुरक्षित बस्ती निर्माणमा नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यले २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो ।

Categorized in राष्ट्रिय