संक्रमण दर ५० प्रतिशत माथि
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ८, शनिबार

नेपालमा पछिल्लो समयमा कोभिड १९ को संक्रमण दर दिनहुँ उकालो लाग्दो छ । हिजोको दिनसम्म ५० प्रतिशत भन्दा तल रहेको नयाँ संक्रमण दर आज ५० प्रतिशत भन्दा माथि पुगेको छ ।
गएको २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ५० दशमलव ७९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा २० हजार १८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा १० हजार २५४ जना नयाँ संक्रमित भेटिएका छन् ।
१४ हजार ४६२ आरटी पिसिआर परिक्षणमा भने ८ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण दरसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्ला दिनमा मृत्यु दर निकै कम रहेकोमा गएको २४ घण्टामा एकैपल्ट १६ जना संक्रमितको मृत्यु भएको छ । कोभिड संक्रमणका कारण हालसम्ममा ११ हजार ६५१ जनाको मृत्यु भइसकेको छ ।
निको हुनेको दर भने घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निको हुनेको दर ९० दशमलव ७ प्रतिशत रहेको छ ।
कुल संक्रमितमध्ये आजसम्ममा ८ लाख २० हजार २८३ संक्रमित संक्रमणमुक्त हुन सफल भइसकेका छन् । पछिल्लो समयमा ७०८ जना संक्रमित निको भएका छन् ।
हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ७१ हजार २६१ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ६०१ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।
२१० जना संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिँदैछ भने तीमध्ये ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल १५ वटा जिल्लामा ५ सय भन्दा माथि सक्रिय संक्रमितहरु रहेका छन् ।
Categorized in राष्ट्रिय