arin enterprises

पर्यटन बोर्डका उपाध्यक्षमाथि आर्थिक हिनामिनादेखि मानव तस्करीसम्मको आरोप

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ १५, शनिबार

नेपाल पर्यटन बोर्ड, देशकै पर्यटन सम्वन्धि सम्पूर्ण जिम्मेवारी बोकेको निकाय, पछिल्लो समय यहि बोर्डका पदाधिकारीहरु विवादमा तानिँदै गएपछि बोर्डभित्र भइरहेको अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगको विषय छताछुल्ल भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी विमानस्थल काण्डबाट विवादित बनेको विषय सेलाउन नपाउँदै फेरी बोर्डका उपाध्यक्ष चन्द्र रिजाल विवाद र शंकाको घेरामा तानिएका छन् ।

उपाध्यक्ष रिजालमाथि राजस्व मनपरी खर्च गरेकोदेखि लिएर मानव तस्करी गरेकोसम्मको आरोप लागेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेग्मीमाथि छानबिन गर्न बनेको समितिको संयोजकसमेत रहेका उपाध्यक्ष रिजालले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा अध्यक्ष रहँदा सरकारी राजस्वलाई मनपरी खर्च गरेको आरोप लागेको छ ।

टिम्स कार्डमार्फत उठाइएको रकम मनपरी खर्च गरेको आरोप

तत्कालीन अध्यक्ष रिजालले पदयात्रामा जाने पर्यटकबाट ’पर्यटक सूचना–व्यवस्थापन प्रणाली’ (टिम्स कार्ड) मार्फत उठाइएको रकममा मनपरी खर्च गरेको आरोप लागेको हो ।

केही समय अगाडिमात्रै टानको लेखा परिक्षण गराउँदा रिजालको कार्यकालमा मात्रै १ करोड २१ लाख २१ हजार ३ सय ८७ रूपैयाँ बेरुजु देखिएको हो ।

रिजालले आफ्नो दुई वर्षे कार्यकालमा उक्त रकम बिनाआधार खर्च गरेकोसमेत लेखा परिक्षणमा देखिएको स्रोतले बताएको छ । उनले टानमा हुने चिया खर्चदेखि विदेश भ्रमणमा समेत सोही टिम्स कार्डमार्फत उठेको पैसा खर्च गरेको पाइएको छ ।

रिजालको पालामा १६ लाखभन्दा बढी होटेल खर्च देखिएको छ । अमेरिकाको शिकागोमा पर्यटन प्रवर्द्धनको नाममा ४२ लाखभन्दा बढी खर्च गरिएको छ ।

रिजाल टान अध्यक्षमा २०७२ असोज २८ मा निर्वाचित भएका थिए ।

टानसँग समयमै फर्छ्यौट गर्न नलगाउँदा पनि बेरुजु धेरै लामो समयदेखि रहेको टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

२०६६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, टान र नेपाल पर्यटन बोर्डबीच त्रिपक्षीय सम्झौता भएपछि पर्यटकबाट टिम्स कार्डमार्फत दस्तुर उठाउन सुरु गरिएको थियो ।

सम्झौताअनुसार उठाइएको दस्तुरको ३० प्रतिशत बोर्डले, ३० प्रतिशत नेपाल सरकार, ३० प्रतिशत टान र १० प्रतिशत मजदूर कोषमा रहनेगरी सम्झौता गरिएको थियो ।

मानव तस्करीसमेत गरेकाेआरोप

त्यस्तै, रिजाल मानव तस्करीमासमेत मुछिएका छन् ।

रिजालले २०७५ को असोज १ गते सी नेपाल ट्राभल एण्ड एडभेन्चर प्रालि नामको कम्पनीकी म्यानेजर सुमित्रा लामिछानेसँग मोटो रकम लिएर त्यहाँ आयोजना हुन लागेको एक कार्यक्रममा पठाएको कुरा अहिले खुलेको छ ।

त्यतिबेला अष्ट्रियामा आयोजित अल्पिनमेस २०१८ कार्यक्रममा टान र बोर्डका तर्फबाट सहभागी हुन लामिछानेलाई त्यहाँ पठाइएको थियो । लामिछाने अहिलेसम्म उतै लुकेर बसेको स्रोतले बताएको छ ।

रिजालले लामिछानेको नाम सिफारिस गर्न दबाब दिएको तत्कालीन टानका एक बोर्ड सदस्यले बताएका छन् ।

रिजालले आफूलाई लागेका अभियोगहरूको खण्डन गर्दै आएका छन् । रिजालले आफूलाई लागेको अभियोग तथ्यहीन रहेको भनेर विभिन्न सञ्चारमाध्यमलाई बयान समेत दिएका छन् ।

Categorized in राष्ट्रिय