शुक्रबारभित्र खोपको जानकारी अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
SamacharDesk – समाचारडेस्क | २०७८ माघ १७, सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शुक्रबारभित्र कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण अद्यावधिक गर्न आफ्ना मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको छ ।
आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतका व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूलाई शुक्रबार दिउँसो ३ देखि ४ बजेभित्र यो निर्देशन पालना गर्न आदेश दिएको हो ।
कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानबिन गर्न गठित समितिको पहिलो बैठकअनुसार यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
खोप लगाएका सबै व्यक्तिहरूको विवरण मन्त्रालयको डीएचआइएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न उक्त सूचनामा निर्देशन दिइएको हो ।
Categorized in राष्ट्रिय