पत्रकारहरुले ‘ज्येष्ठ पत्रकार वृत्ति’ पाउने
SamacharDesk | २०७८ फाल्गुण १९, बिहिबार

नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ ।
फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन् । सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको हो ।
नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो ।
सरकारको निर्णय सार्वजनिक भएपछि विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रोशन पुरीले यसको स्वागत गर्नुभएको हो । कोष सञ्चालन मापदण्डका कतिपय प्रावधानलाई सरलीकृत गर्नुपर्ने भन्दै महासंघले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
Categorized in राष्ट्रिय