भक्तपुरमा बर्डफ्लुको त्रास
SamacharDesk | २०७८ फाल्गुण २८, शनिबार

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको छ । यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो ।
त्यस्तै वीरगन्जमा पनि कुखुरामा बर्डफ्लूको संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहीस्थित सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्मका ब्रोइलर कुखुरामा बर्डफ्लू देखिएको हो । बर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय कुखुरा मरेका छन् ।
फर्ममा रहेका कुखुरा बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जिउँदो कुखुरा र पंक्षीजन्य वस्तुहरू पनि नष्ट गरिएको छ । बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाई सिल गरिएको छ ।
भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परीक्षण गर्ने तयारी गरिएको छ ।
