एमाले कीर्तिपुर नगर इन्चार्जकाे राजीनामा
SamacharDesk – बिराज | २०७९ जेठ २, सोमबार

कीर्तिपुर नगरपालिकामा नेकपा (एमाले) नगर प्रमुख, उपप्रमुखको साथै सबै वडाहरुमा पराजित भएपछि नगर इन्चार्जले पदबाट राजीनामा दिएका छन् ।
नेकपा (एमाले) कीर्तिपुर नगर इन्चार्ज लक्ष्मी कुमार महर्जनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका हुन् । सामाजिक संजालमार्फत नगर इन्चार्ज महर्जनले राजीनामा घोषणा गरेका हुन् ।
‘स्थानीय तहको निर्वाचनमा कीनपाबाट सम्पुर्ण वडा र मेयर उपमेयर पदमा हार व्यहोर्नु परेकोले नैतिकताको आधारमा राजिनामा गर्दछु’ महर्जनले आफ्नो राजीनामा पत्रमा लेखेका छन् ।
राजीनामा पत्रमा महर्जनले आफुले जिम्मेवारी पूरा गरेपनि पार्टीलाई जिताउन नसकेको भन्दै मतदाता, सहयोगी, शुभचिन्तक र पार्टीका नेता कार्यकर्तालाई आभार व्यक्त गरेका छन् ।
‘एतिहासिक कीर्तिपुरमा सुर्यको ध्वजाबाहकहरुलाई जिताउन नसक्दा म यो कीर्तिपुर नगरको इन्चार्ज र जिल्ला कमिटीमा एकछिन बसिरहनु मेरो नैतिकताले दिँदैन । आजको मितिबाट म उक्त पद र जिम्मेवारीबाट राजिनामा गर्दछु’ महर्जन अगाडी लेख्छन् ।
कीर्तिपुर नगरपालिकामा पुरै काँग्रेसकाे कब्जा
कीर्तिपुर नगर प्रमुख पदमा नेपाली काँग्रेसका राजकुमार नकर्मी र उपप्रमुख पदमा जनता समाजवादी पार्टीबाट शुभलक्ष्मी (सुनिता) शाक्य विजयी भएका छन् ।
नगर प्रमुख पदमा निर्वाचित नकर्मीले आफ्ना प्रतिद्वन्दी नेकपा (एमाले) का रत्नकेशर बज्राचार्यलाई साढे ४ हजार मत अन्तरले पराजित गरेका हुन् ।
नगर प्रमुखमा निर्वाचित नकर्मीले ९ हजार ४३ मत पाउँदा बज्राचार्यले ५ हजार ५०७ मत मात्र ल्याउन सके ।
त्यस्तै कीर्तिपुर नगरपालिकाको १० वटै वडाहरुमा प्रायमा नेपाली काँग्रेस पुरै प्यानल नै विजयी भएको छ ।
वडा नम्बर १ मा नेपाली काँग्रेसको वडाध्यक्ष पदमा हिरालाल महर्जन पुरै प्यानलसँगै विजयी भएका छन् । वडा नम्बर २ मा पनि वडाध्यक्ष पदमा काँग्रेसकै रुपेश महर्जन विजयी भएका छन् ।
वडा नम्बर ३ मा पनि पुरै प्यानलसहित सुविन्द्र महर्जन जितेका छन् भने वडा नम्बर ४ को वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार श्याम अधिकारीले जितेका छन् ।
५ मा पनि नेपाली काँग्रेसका राजेन्द्र कुमार महर्जन विजयी हुँदा ६ मा काँग्रेसकै खिरमान बस्नेत (पृथ्वी) निर्वाचित भए । ७, ८, ९ र १० नम्बर वडामा पनि नेपाली काँग्रेसबाटै क्रमशः दिवाकर अधिकारी, सानुमैयाँ महर्जन, दिनेश श्रेष्ठ र नरेश महर्जन विजयी भए ।
कीर्तिपुरमा नेकपा (एमाले) ले दलित महिला सदस्य पदमा दुई सिट मात्रै पाएको छ । वडा नम्बर २ को महिला दलित सदस्यमा एमालेकी सुषमा विश्वकर्मा निर्वाचित भइन् भने वडा नम्बर ८ मा एमालेकी सरस्वती परियार निर्विरोध निर्वाचित भएकी हुन् ।
Categorized in स्थानीय