कामपा २५ वडामा ७४ सालकै ईतिहास दोहोरियो
SamacharDesk – बिराज | २०७९ जेठ ८, आइतबार

२०७४ सालको स्थानीय निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा नेकपा वडाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार बाबुराजा महर्जन निरन्तर अगाडी नै रहे । उनको जीत करीब निश्चित भइसकेको थियो ।
तर अन्तिम समयमा नेपाली काँग्रेसका उम्मदेवार नीलकाजी शाक्यको मत संख्या ह्वात्तै बढ्न गई बाबुराजाले पराजय भोग्नुपरेको थियो ।
कामपा २५ वडामा ७४ सालकै ईतिहास फेरी दोहोरिएको छ । त्यो समयमा नेकपा (एमाले) बाट उम्मेदवारी दिएका बाबुराजा नै यस पालि नेकपा (एस) बाट चुनावी मैदानमा उत्रिएका थिए भने मतगणनाको शुरुदेखि करीब अन्त्यसम्मै अग्रता पनि लिए ।
जित प्रायः निश्चित भइसकेकै अवस्थामा अन्तिम मतहरु नेपाली काँग्रेसको पक्षमा बढि जाँदा उनले फेरी पनि पुरानै शैलीमा हार व्यहोर्नुपरेको छ । फरक मात्र, नेपाली काँग्रेसका उम्मेदवार मात्र भयो ।
यसपालिको स्थानीय निर्वाचनमा पनि कामपा २५ नेपाली काँग्रेसले नै जित हासिल गरेको छ । कामपा २५ वडामा नेपाली काँग्रेसकै पुरै प्यानलले विजय हासिल गरेको छ ।
वडाध्यक्ष पदमा ९१३ मतसहित राजेश डंगोल निर्वाचित हुँदा नेकपा (एस) का महर्जनले ८०१ मत प्राप्त गरे ।
खुल्ला वडा सदस्यमा विजयी उम्मेदवारद्वय कृष्ण प्रजापति र लीनोद विर सिंह तुलाधरले क्रमशः ९३५ र ९३२ मत प्राप्त गरे ।
महिला सदस्यमा निर्वाचित रुपा प्रजापतिले भने सबैभन्दा बढि मत पाइन् । प्रजापतिले एक हजार ११७ मत प्राप्त गरीन् ।
Categorized in स्थानीय