भरतपुरमा रेणु दाहालले दोस्रो कार्यकालको पनि बाजी मारिन्
SamacharDesk | २०७९ जेठ १०, मंगलबार

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले निकै प्रतिष्ठाको विषय बनाएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा एकीकृत माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् ।
सत्ता गठबन्धन निरन्तरताको भविष्यसँग जोडिएको ठानिने चितवनको चुनावमा रेनुले जित्दा माओवादी केन्द्रलाई राहत मिलेको छ । उता एमाले आफैभित्र अन्र्तघातको शिकार भएको चर्चा पनि चल्न थालेको छ ।
नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार चार सय ४९ मतले हराउँदै रेनु मेयरमा निर्वाचित हुनुभएको हो । दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याउनुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याउनुभएको छ ।
उपमेयरमा सत्ता गठबन्धनका चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुनभएको छ । एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनुभएको छ । उता, बीरगञ्ज महानगरपालिकाको मेयरमा पनि गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी हुनु भएको छ ।
सिंह ४६ हजार २१५ मत प्राप्त गरी मेयर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत ल्याउनु भएको छ । सिंहले सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्नुभयो । राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलम ३० हजार ७८ मत ल्याउँदै विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक समाजवादीका पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत प्राप्त गर्नुभयो ।
नव निर्वाचित मेयर दाहालले जित हासिल गरेपश्चात उहाँले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ । उहाँले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताउनु भएको छ ।
उहाँले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवद्र्धन गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो ।
मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माण, नारायाणी तटबन्ध निर्माणलाई अघि बढाउने र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने उद्घोष गर्नुभयो ।
Categorized in स्थानीय