arin enterprises

टेक्ससमा गोलीकाण्ड : १८ बालबालिका र शिक्षक सहित २१ जनाको मृत्यु

SamacharDesk | २०७९ जेठ ११, बुधबार

अमेरिकामा अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा २१ जनाको मृत्यु भएको छ ।

टेक्ससको एक प्राथमिक बिद्यालयमा १८ बर्षिय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८ जना बालबालिका र शिक्षकसहित २१ जना मारिएका छन् । टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा प्रवेश गरेर साल्भाडोर रामोस नामका १८ बर्षिय युवकले ह्याण्डगन र राईफलबाट अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

सीएनएनका अनुसार रामोसले सबैभन्दा पहिला आफ्नै हजुरआमालाई गोली हानेका थिए, गम्भीर घाइते हुनुभएका हजुरआमाको अस्पतालको सघन कक्षमा उपचार भैरहेको छ । यस्तै, गोलीकाण्ड हुनुअघि रामोसले सामाजिक सञ्जालमा अत्याधुनिक हतियार पोष्ट गरेका थिए ।  आक्रमणकारी युवक पनि प्रहरी कारबाहीमा मारिएका छन् ।

घटनाप्रति दुख ब्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सामान्य चेतना प्रयोग गरेर बन्दुकमाथि प्रतिबन्ध लगाउने विधेयक अघि बढाउन प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गर्नुभएको छ । उहाँले यस्ता घटनाबाट आपूm मर्माहत भएको बताएका छन् ।

अमेरिकामा बर्षेनी हुने गरेको गोलीकाण्डमा २ सय बढीको मृत्यु हुने गरेको छ । जसमा अधिकांश गोलीकाण्ड बिद्यालय र कलेजहरुमा हुने गरेका छन । यो घटनाको सामाजिक सञ्जालमा ब्यापक निन्दा भएको छ ।

अमेरिकाको भ्वाइलेन्स आर्काइभको तथ्यांक अनुसार यो बर्ष मात्रै अमेरिकाका बिभिन्न शहरमा भएका यस्तै गोलीकाण्डमा २ सय १२ जनाको ज्यान गईसकेको छ ।

यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो ।

स्यान्डी हुक हमलामा २० बालबालिकासहित छ जना वयस्क मारिएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय