arin enterprises

सपथग्रहण पश्चात फोहोरमैला व्यवस्थापन कार्यदल गठन

SamacharDesk – राम डंगोल | २०७९ जेठ १६, सोमबार

काठमाडौं महानगरपालिका नव प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रिय सभागृहमा महानगर प्रमुख वालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल लगायतका जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराउनुभएको हो ।

सपथग्रहण लगत्तै आजै पदभार ग्रहण गर्नुका साथै ३२ वडाका अध्यक्षहरु सम्मिलित महानगपालिकाको पहिलो बैठक समेत बसेको छ । 

महानगर प्रमुख साहले सोमबारको बैठकमा जनप्रतिनिधिहरुबीच परिचय गर्ने, महानगरका मतदातालाई धन्यवाद ज्ञापन गर्ने, फोहोरमैला व्यवस्थापन र काठमाडौंका होटलहरूसँग सार्वजनिक शौचालयको सहकार्य गर्नेलगायतका प्रस्तावहरु राख्नुभएको थियो ।

बैठकले महानगर प्रमुख वालेन्द्र साहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको छ ।कार्यदलको बैठक मङ्गलबार बस्ने छ ।

कार्यदलका सदस्यहरुमा एमालेका तर्फबाट उपप्रमुख सुनिता डंगोलसहित थप एकजना, नेपाली कांग्रेसका तर्फबाट दुई सदस्य, नेकपा एकीकृत समाजवादीका सदस्य एक र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।

 

Categorized in स्थानीय