निगमले फेरि पेट्रोलको भाउ बढायो
SamacharDesk | २०७९ जेठ २७, शुक्रबार

गत दुई साता अघि मात्र १० रुपैयाँ समायोजन गरेको नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।
सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले गएरातिदेखि लागु हुने गरी फेरी बढाएको हो । निगमले पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढाएको हो ।
अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने बढेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमको दाबी छ । मट्टीतेलमा भने प्रतिलिटर १७ रुपैयाँ १ पैसा नाफा रहेको निगमको दावी छ ।
पेट्रोलियम पदार्थमा मूल्यमा वृद्धि गरेसँगै यातायात व्यवस्था विभागले पनि शुक्रबार एक सूचना प्रकाशित गरी भाडादर बढेको जानकारी गराएका छन् ।
विभागले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २।५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३।३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३।७ प्रतिशत मूल्य बढेको जनाएको छ ।
Categorized in बिजनेस