स्वतन्त्र पार्टीको नामप्रति स्वतन्त्र उम्मेदवारहरुको आपत्ती
SamacharDesk – बिराज | २०७९ आषाढ ९, बिहिबार

संचारकर्मी रवि लामिछानेको नेतृत्त्वमा घोषणा गरिएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नामलाई लिएर स्वतन्त्र उम्मदेवारी अभियानले आपत्ती जनाएको छ ।
अभियानले निर्वाचन आयोगमा उजुरी दर्ता गर्दै स्वतन्त्र नामबाट पार्टी दर्ता नगर्न माग गरेको छ ।
अभियानका संयोजक डम्बर साहुको हस्ताक्षर रहेको उजुरी पत्रमा स्थानीय तहको निर्वाचनको क्रममा बढ्दो आकर्षणलाई आफ्नो मुठ्ठीमा कब्जा गर्ने दुषित मनसाय र कथित अवसरवादीलाई आम मतदाता, नागरिक समाज, मिडिया र सरोकारवालाहरुले चिन्नु पर्ने लेखिएको छ ।
‘परम्परागत राजनैतीक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजन सहितका युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य रहे तापनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु’ उजुरी पत्रमा लेखिएको छ ।
कुनै पनि व्यक्तिको कुनै पनि राजनैतीक पार्टीमा आवद्ध नभई स्वतन्त्र उम्मेदवारी दिन पाउने संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नाले स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको अभियानको भनाई छ ।
स्थानीय तहमा निर्वाचनमा देशैभरी स्वतन्त्र उम्मेदवारी दिएका र आसन्न संसदीय निर्वाचनमा स्वतन्त्र उम्मदेवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात पुगेको पनि अभियानले जनाएको छ ।
Categorized in राजनीति