ह्वाट्सएपमा पनि च्यानल बनाउन सक्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २७, शनिबार

ह्वाट्सएपले पनि टेलिग्रामको जस्तै ‘च्यानल’ फिचर ल्याएको छ ।अब देखि यो फिचर प्रयोग गरी ह्वाट्सएप प्रयोगकर्ताले निजी च्यानल बनाउन सक्नेछन् ।
उक्त च्यानलमा जोडिएका प्रयोगकर्ताले एड्मिनले पठाएका फोटो, भिडिओ, टेक्स्ट, स्टिकर, पोल देख्न पाउनेछन् । तर, उनीहरूलाई उक्त मेसेज रिप्लाई गर्ने सुविधा भने हुने छैन ।
आफ्नो कन्ट्याक्टमा सेभ गरेको कन्ट्याक्टबाट मात्र ब्रोडकास्ट मेसेज आउने कम्पनीले बताएको छ । तर, त्यसका लागि पनि उक्त नम्बर ह्वाट्सएपमा सिङ्क भएको हुनुपर्नेछ ।
अर्थात् ब्रोडकास्ट मेसेज पाउन दुवै पक्षले एक–अर्कालाई चिनेको हुनुपर्नेछ ।
च्यानलका कन्टेन्टहरू स्टाटसको सेक्सनमा रहेको अपडेट ट्याबबाट हेर्न सकिने कम्पनीले जनाएको छ ।
च्यानलको एड्मिन र ग्रुपमा जोड्न आउने दुवै पक्षले प्रोफाइल फोटो र फोन नम्बर फलोअरले देख्न पाउने छैनन् । यो फिचरले फोन नम्बरभन्दा पनि प्रयोगकर्ताको युजरनेम प्रयोग गर्ने भएकाले प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने कम्पनीको दाबी छ ।
प्रयोगकर्ताले आफ्नो रुचि भएको शीर्षक फेला पारी फलो गर्ने फिचर उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता दिएको छ । हाल एड्मिनले तयार पारेको च्यानलमा लिङ्कबाट समेत जोइन हुन सकिन्छ ।
च्यानलमा भएका अपडेटहरू ३० दिनपछि ह्वाट्सएपको सर्भरबाट हट्नेछन् । भविष्यमा च्यानल एड्मिनले चाहेको समयमा अपडेट हटाउन सक्ने फिचरका लागि कम्पनीले आवश्यक तयारी गरिरहेको जनाएको छ ।
एड्मिनले चाँडै स्क्रिनशट ब्लक गर्ने र कन्टेन्ट फर्वार्ड गर्ने अप्सन पाउने कम्पनीको भनाइ छ । त्यस्तै एड्मिनले आफ्नो च्यानल कसलाई फलो गर्न दिने भन्ने अप्सन पनि छान्न सक्छन् ।
जसका लागि कम्पनीले च्यानल निजी वा सार्वजनिक बनाउने अप्सन ह्वाट्सएपले समावेश गरेको छ ।
ह्वाट्सएप च्यानलका कन्टेन्ट भने डिफल्ट रुपमा इन्ड–ट–इन्ड इन्क्रिप्सन छैनन् । कम्पनीले यो फिचर कत्तिको आवश्यक हुन्छ भन्ने कुरा खोजी गरी भविष्यमा उपलब्ध गराउने जनाएको छ ।
हाल कोलम्बिया र सिङ्गापुरमा उपलब्ध यो फिचर आगामी महिना संसारभरका प्रयोगकर्तामाझ उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो फिचर सार्वजनिक भएपछि जोकोहीले आफूलाई मनपर्ने विषयमा च्यानल बनाउन सक्नेछन् । त्यस्तै पछिका दिनमा ह्वाट्सएप च्यानलबाट आम्दानी समेत गर्न सकिने फिचर उपलब्ध गराउन कम्पनी अन्वेषण गरेको छ ।
Categorized in विज्ञान-प्रविधी