बर्दीमै टिकटक बनाउने प्रहरीहरुलाई कारबाही
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ३१, आइतबार

बर्दीमै टिकटक भिडिओ बनाउने प्रहरीहरुलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ ।
२०७७ देखि चालू आर्थिक वर्षको असार २२ गतेसम्म कार्यालयले बर्दी लगाएर टिकटक भिडिओ बनाउने २ सय ८ जना प्रहरीहरुलाई कारबाही गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ८२, २०७८/७९ मा ३० र २०७९/८० मा ९६ गरी तीन वर्षको अवधिमा २ सय ८ जनालाई कारबाही गरिएको छ ।
२०७७ साल असोजदेखि प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडियो बनाएको पाइएमा कारवाही गर्ने बताएको थियो । त्यही अन्तर्गत अनुशासन पालन नगर्ने प्रहरीलाई कारवाही गरेको कार्यालयले बताए ।
प्रहरी कार्यालयले अनुसार कहिलेकाहीँ सामाजिक सञ्जालमा आउँदा वा कार्यालयको मनिटरिङ एजेन्सीबाट मनिटर गरेपछि सम्बन्धित कार्यालयलाई पत्राचार गरी कारवाही गर्न निर्देशन दिने गरेको छ ।
विभागीय कारवाहीमा सचेत गर्नेदेखि नसेद गर्ने, निजको प्रमोसन र ग्रेड रोक्का गर्ने लगायत अन्य थुप्रै किसिमका कारवाहीहरु छन् ।
Categorized in अपराध