arin enterprises

साउने संक्रान्ति मनाईंदै

SamacharDesk | २०८० श्रावण १, सोमबार

आज साउने संक्रान्ति । नेपालीहरुले आ–आफ्नो परम्परा अनुसार यो पर्व मनाउने गर्दछन् ।

सूर्य आजदेखि कर्कट राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई कर्कट सक्रान्ती पनि भन्ने गरिन्छ । साथै सूर्य आजैदेखि दक्षिणायण हुने गर्दछ ।

माघे सक्रान्तिबाट उत्तरायण भएको सूर्य आजदेखि दक्षिणायन हुने गर्दछ । आज साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्षको साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ । भोलिदेखि मलमास सुरु हुने भएका कारण पनि आज पहिलो सोमबार भक्तजनको भीड लागेको छ ।

साउने सङ्क्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट सङ्क्रान्तिफल सुन्ने चलन छ ।

गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टोसहित लुतो फाल्ने गरिन्छ ।

यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ । यस क्रममा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन पनि छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको ब्रत तथा पूजाको महिना पनि मान्ने गरिन्छ । महिलाहरुले यो महिनामा हरियो वस्त्र तथा आभूषण लगाएर महादेवको ब्रत बस्ने गर्दछन् ।

यस्तै बोलबम यात्रा पनि साउन महिनाभर गर्ने गरिन्छ । आज काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लागेको छ ।

आज सोमबारे औँसी पनि परेकोले सनातन धर्मावलम्बीहरुले सोमबारे औँसीलाई विशेष मान्ने गरिन्छ । सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने तथा पितृको सम्झनामा दान गर्नेलगायत कर्म गर्ने गरिन्छ ।

यस दिन पितृ तर्पण, श्राद्ध वा पितृका नाममा दान गर्दा फल प्राप्ती हुने शास्त्रीय मान्यता छ । यस्तै सोमबारे औंसीमा तुलसी र पिपलको पूजा गर्ने चलन पनि रहेको छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।

Categorized in संस्कृति