arin enterprises

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि

SamacharDesk – Ram Dangol | २०८१ बैशाख ४, मंगलबार

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ ।

पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । आज जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्याइन्छ ।

जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई आज तीनधारामा बनाइएको रथमा रथारोहण गरी घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु¥याइन्छ ।

यसैगरी रथ जात्रको दोस्रो दिन असनबाट हनुमानढोकासम्म ल्याइपुर्याइन्छ । जात्रा अन्तिम दिन भने हनुमानढोबाट मरु, चिकंमुगल, जैसिदेव, न्हूघः, ज्यावहाल हुँदै लगन टोलसम्म पु¥याइन्छ ।

लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । र, रथबाट ओराली खटमा बोकेर मच्छिन्द्र बहालमै फकाईएपछि यो वर्षको जात्रा सम्पन्न हुने गर्दछ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए ।

उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।

सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलको तीनधारा पाठशालामा रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन् ।

धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पूज्ने परम्परा छ ।

Categorized in संस्कृति