arin enterprises

नागार्जुन नगरपालिकामा मातृभाषा शिक्षा कार्यान्वयनको माग

SamacharDesk – बिराज | २०८२ फाल्गुण २६, मंगलबार

नागार्जुन नगरपालिका भित्रका विद्यालयहरुमा पनि स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा पठनपाठन गराउन माग गरिएको छ ।

नेवाः देय् दबू जामाच्व नगर समितिले नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशीला अधिकारी समक्ष यस्तो माग राखेका हुन् ।

देय् दबू नगर समितिका वरिष्ठ उपाध्यक्ष विश्व राम बलामीको नेतृत्वमा पदाधिकारी तथा सल्लाहकार सहितको टोलीले कार्यवाहक नगर प्रमुख अधिकारीलाई भेटेर यो माग राखेका हुन् ।

समितिले उक्त भेटवार्तामा भाषा आयोगको निर्णय कार्यान्वयनका लागि शैक्षिक सत्र २०८३/०८४ देखि नागार्जुन नगरपालिका भित्रका केही स्कुलहरुमा नेपालभाषामा पठनपाठन गराउने कुरामा सकारात्मक छलफल भएको बताएको छ ।

नगरपालिकाको लोगो समावेशी बनाउने, स्थान नाम जामाच्व नगरपालिका लेखी लेटरहेड तयार गर्ने र मौजुदा स्थानीय पाठ्यक्रममा रहेको गलत सूचना सच्याउने कुरामा समेत कार्यवाहक नगर प्रमुख सकारात्मक रहेको समितिले जानकारी दिएको छ ।

नागार्जुन नगरपालिका छिमेकी स्थानीय तहहरू काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, कीर्तिपुर नगरपालिका र शंखरापुर नगरपालिकामा नेपालभाषाबाट स्थानीय पाठ्यक्रम लागू भईसकेको छ ।

नागार्जुन नगरपालिकामा हाल स्थानीय पाठ्यक्रमको रूपमा मातृभाषा लागू गर्ने पहलकदमी नदेखिए पछि नेवाः देय् दबू जामाच्व नगर समितिले निरन्तर नगरपालिकमा ध्यानाकर्षण, छलफल र वहसलाई निरन्तरता दिएको दबूको नगर समितिले जनाएको छ ।

Categorized in समाज